काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा प्रणाली डिजिटल बनाउने भएको छ ।
सरकारले ल्याएको नयाँ ‘राष्ट्रिय यातायात नीति २०८३’मा सवारी चालक तालिम, परीक्षा र अनुमतिपत्र प्रणालीलाई दक्षता र व्यवहारमा आधारित तथा डिजिटल बनाउने उल्लेख गरिएकाे हो ।
हाल लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षा भौतिक रुपमै संचालन हुँदै आएको छ । सरकारले भविष्यमा लिखित परीक्षा अनलाइन माध्यमबाट दिने व्यवस्था मिलाउने नीति लिएको हो ।
त्यस्तै, ट्रायल दिँदा यातायात कर्मचारी वा ट्राफिक नराखी क्यामेरा र एआइ प्रविधिबाट स्वचालित मूल्यांकन गरिने प्रणाली अपनाइने भएको हो ।
त्यसैगरी, सरकारले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत चालकको ट्राफिक उल्लङ्घन तथा सुरक्षित ड्राइभिङ अभिलेखलाई एकीकृत गरी जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली लागू गर्ने योजना बनाएको छ ।
व्यावसायिक सवारी चालकका लागि निरन्तर तालिम तथा अनुमतिपत्र नवीकरणसँग आबद्ध क्षमता विकास व्यवस्था लागू गर्ने लक्ष्य राखेको छ ।
चालक, यात्रु तथा समुदायको सुरक्षा व्यवहार सुधार गर्न विद्यालय तहदेखि उच्च शिक्षासम्म सडक सुरक्षा शिक्षालाई औपचारिक पाठ्यक्रममा क्रमशः समावेश गर्ने, सडक प्रयोगकर्ताको व्यवहार सुधारका लागि लक्षित जनचेतना तथा सञ्चार अभियान नियमित रूपमा सञ्चालन गर्ने, प्रदेश सरकार, स्थानीय तह, समुदाय, शैक्षिक संस्था र निजी क्षेत्रसँगको सहकार्यमा समुदायमा आधारित सडक सुरक्षा कार्यक्रम प्रवर्धन गर्ने, सडक सुरक्षा प्रवर्धनमा योगदान गर्ने व्यक्ति, संस्था र समुदायलाई प्रोत्साहन गर्ने प्रणाली विकास गरिने भएको छ ।


