हुन्डाईले पूरा गर्यो १० करोडको माइलस्टोन, ११ वर्षमै ५ करोड कार उत्पादन

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ मोटर्सले १० करोड कार उत्पादनको माइलस्टोन पूरा गरेको छ । सन् १९६७ मा कोरियाको उल्सान प्लाण्टबाट उत्पादन सुरू गरेको हुन्डाईले ५७ वर्षमा १० करोड कार उत्पादन पूरा गरेको हो ।

कम्पनीले १० करोडाैं युनिट पूरापछि पहिलाे कारको रुपमा आयोनिक ५ रोलआउट गरेको हो । हुन्डाईले  १० करोड कार उत्पादन भएको अवसरमा प्लाण्टबाटै आयोनिक ५ आफ्नो ग्राहकलाई डेलिभरी दिएको थियो ।


हुन्डाई मोटर्सलाई ५ करोड कार उत्पादनको माइलस्टोन भेटाउन सन् २०१३ सम्म ४६ वर्ष लागेको थियो भने थप ५ करोड मात्र ११ वर्षमा उत्पादन गरी १० करोड संख्या पुर्याएको हो ।

हुन्डाई मोटर्सको कोरिया बाहेक टर्कीमा पहिलो अन्तर्राष्ट्रिय प्लाण्ट सन् १९९७ मा बनाएको थियो । हाल कम्पनीको चेक रिपब्लिक, टर्की, भारत तथा अमेरीका लगायन ८ देशमा ११ वटा उत्पादन प्लाण्ट रहेको छ ।  यी प्लाण्टहरूको कुल वार्षिक क्षमता ५० लाख युनिट रहको छ ।

हुन्डाईको पहिलो मोडल कर्टिना रहेको थियो भने मास प्रडक्सन भएको मोडल पोनी रहेको थियो । हुन्डाईको पहिलो प्रफर्मेन्स कार भेलोस्टर एन रहेको थियो भने ईभीमा आयोनिक ५ एन प्रफर्मेन्स कार हो ।

हुन्डाईको सबैभन्दा धेरै बिकेको मोडल एलान्ट्रा हो भने सेकेण्ड बेस्ट सेलर एक्सेन्ट सेडान हो । कोरियामा अभान्ते पनि भनिने एलान्ट्रा १ करोड ५४ लाख युनिट बिक्री भइसकको छ । जसमा अन्तर्राष्ट्रिय बजारमा १ करोड २० लाख बिक्री भएको हो । त्यस्तै, एक्सेन्टको बिक्री हालसम्म १ करोड ३ लाख रहेको छ । त्यसपछि धेरै बिकेको मोडलमा क्रमशः सोनाटा, टुसान तथा सान्ताफे रहेको छ ।

हुन्डाई मोटर्सले अहिले पेट्रोल, डिजल, हाइब्रिड, हाइड्रोजन फ्युलसेल गरी सबै प्रकारको पावरट्रेनमा भेहिकलहरू उत्पादन गरिरहेको छ ।


Back_to_top