काठमाडौं । हुन्डाईको नयाँ जेनेरेशन भेन्यू नेपालमा उत्पादन सुरू हुने भएको छ । कम्पनीले नयाँ जेनेरेशा मोडलको एसेम्बल किट ल्याएर परीक्षण उत्पादन पूरा गरेकोले अब बिक्रीको लागि उत्पादन थाल्ने भएको हो ।
नेपालमा हुन्डाईका कार एसेम्बलिङ गर्दै आएको लक्ष्मी मोटर कर्पोरेशनका अनुसार नयाँ जेनेरेशन भेन्यूको परीक्षण उत्पान पूरा भइसकेको छ ।
‘हामीले परीक्षण उत्पादन पूरा गरेका छौं । प्राविधिक परीक्षण सकिएको कारण अब बिक्रीको लागि उत्पादन सुरू हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
भारतमा गत अक्टोबरमा बिक्री सुरू भएको नयाँ जेनेरेशन भेन्यू निकै आकर्षक मोडल हो । पेट्रोलबाट चल्ने सब फोर मिटर एसयूभी खोज्नेको रोजाइमा पर्दै आएको भेन्यू नेपालमा निकै सफल मोडल पनि हो । यसलाई आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ बाट बिक्री थाल्नेछ ।

हुन्डाईले दोस्रो पुस्ताको भेन्यू एसयूभीमा डिजाइन, प्रविधि, आराम र सुरक्षामा व्यापक सुधार गरेर ल्याएको छ । जुन नेपाली सडकको लागि पनि निकै आकर्षक हुन सक्नेछ ।
नेपालमा सन् २०१९ देखि बिक्री सुरू भएको पहिलो पुस्ताको भेन्यू ६ वर्षमा ३ हजार युनिट हाराहारी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
नयाँ भेन्यूमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम एक्सल सस्पेन्सन प्रयोग गरिएको छ । खाल्डाखुल्डी तथा सामान्य कच्ची सडकमा पनि गाडी पहिलेभन्दा धेरै स्मुद र आरामदायी महसुस हुन्छ ।
हुन्डाईले नयाँ डिजाइनको ’डी-कट’ थ्री स्पोक स्टेयरिङ ह्वीलमा ल्याएको नयाँ भेन्यूको टर्निङ रेडिस पनि सुधार भएको छ ।

ड्यासबोर्ड पूर्ण रूपमा नयाँ डिजाइनमा तयार गरिएको छ । कम्पनीले ककपीटमा ’एच’ आकारको डिजाइन थिम प्रयोग गरेको छ । टप भेरियन्टमा १२.३ इन्चका दुईवटा स्क्रीन जोडिएको प्यानोरामिक डिस्प्ले, एम्बियन्ट लाइट, नयाँ गियर सेलेक्टर तथा आरामदायी सिट उपलब्ध छन् ।
हुन्डाईले १.० लिटर टर्बो पेट्रोल भेरियन्टमा पहिलो पटक एडास पनि उपलब्ध गराइएको छ । यसमा लेन किप असिस्ट, लेन फलोइङ असिस्ट, फरवार्ड कोलिजन अवोइडेन्स, स्मार्ट क्रुज कन्ट्रोल, हाइ बिम असिस्ट, लिडिङ भेहिकल डिपार्चर अलर्टलगायत १६ वटा ड्राइभर असिस्ट फिचर समावेश छन् ।
नयाँ भेन्यूमा ६ एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट पार्किङ सेन्सर, अटो होल्ड र ३६० डिग्री क्यामेरा जस्ता सुरक्षा फिचर उपलब्ध छन् ।

कोरियन निर्माताले भारतमा उत्पादन गरेको भेन्यूमा ईको, नर्मल र स्पोट्स गरी तीनवटा ड्राइभिङ मोड पाउन सकिन्छ । साथै स्यान्ड, मड र स्नो गरी तीन ट्रयाक्सन मोड पनि दिइएको छ ।
नयाँ भेन्यू १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पमा दिइएको छ । नेपालमा सुरूमा १.२ लिटर पेट्रोल इन्जिनमा भेन्यू उपलब्ध हुनेछ ।
यसको मूल्य लगायतको विषयमा कुनै जानकारी बाहिर आएको छैन । तर, पहिलेकोभन्दा केही बढी मूल्य पर्ने अनुमान भने गर्न सकिन्छ ।


