काठमाडौं । हुन्डाई मोटर्सले भारतको लागि हाइब्रिड पावरट्रेनको रोडम्याप तयार पारेको छ । कम्पनीले आगामी २ देखि ३ वर्ष भित्र ३ वटा नयाँ हाइब्रिड एसयूभी लन्च गर्ने योजना बनाएको हो ।
अहिलेसम्म बाहिर आएको सूचना अनुसार हुन्डाईले क्रेटा एसयूभी, नयाँ ७ सिट क्षमताको एसयूभी र एउटा ग्लोबल फ्ल्यागशिप मोडललाई हाइब्रिडमा ल्याउने भएको हो ।
हुन्डाईले ल्याउने हाइब्रिडमा धेरैको चासो क्रेटा एसयूभीमै रहने सहजै अनुमान गर्न सकिन्छ । क्रेटा कम्पनीको सर्वाधिक बिक्री हुने एसयूभी हो । कम्पनीले क्रेटाको नयाँ जेनेरेशन मोडलको विकासलाई तीव्रता दिइसकेको छ ।
नयाँ जेनेरेसन क्रेटा कम्पनीको नयाँ प्लेटफर्ममा आउने छ । नयाँ प्लेटफर्मको विषयमा धेरै जानकारी बाहिर नआए पनि त्यो हाइब्रिडको लागि उपयुक्त हुनेछ । कम्पनीले नयाँ जेनेरेसन क्रेटाको विकास क्रममा कोड नेम ‘एसएक्स थ्री’ राखेको छ ।
अहिलेको तुलनामा व्यापक परिवर्तन भएर आउने नयाँ जेनेरेसन क्रेटाको बाहिरी बनोट सार्प हुनेछ । यसको इन्टेरियर अहिलेको तुलनामा पूरै परिमार्जन हुनेछ ।
भारतले प्रदूषण मापदण्ड कडा बनाउँदै क्याफे ३.० नियम लागू गर्न लागेको समयमा कम्पनीले इन्जिनलाई पनि थप ट्युनिङ गर्नेछ । नयाँ जेनेरेसन क्रेटामा पनि १.५ लिटरको पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनलाई निरन्तरता दिनेछ ।
हाइब्रिड सिस्टम भने १.५ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिनसँग उपलब्ध हुनेछ । सन् २०२७ मा नयाँ जेनेरेसन क्रेटा आउनेछ । यसको इलेक्ट्रीक भर्सन पनि पूरै नयाँ भएर आउँछ ।

