काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले सन् २०१८ देखि निरन्तर कोना एसयूभी विक्री गर्दै आएको छ । कोनापछि आयोनीक ब्राण्डबाट दुई नयाँ मोडल बजारमा ल्याइसकेको हुन्डाईले कोनाभन्दा सस्तो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने चर्चा सुरु भएको हो ।
हुन्डाईले कोरियन बजारमा विक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभीलाई इलेक्ट्रीकमा ल्याउने भएको हो । अहिले कोरियन बजारमा परीक्षण भइरहेको क्यास्पर इलेक्ट्रीक सन् २०२४ को पहिलो क्वाटरमा नै बजारमा आउने गरी तयारी भइरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
हुन्डाई क्यास्परमा पनि कोनाकै जस्तो ३९.२ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने क्यास्पर इलेक्ट्रीक आधुनिक फिचरले भरिपूर्ण कार हुनेछ ।
हुन्डाईको के१ प्लेटफर्ममा बनेको क्यास्पर अहिलेसम्म कोरियन बजारमा मात्रै विक्री हुँदै आएको छ । यसको विद्युतीय संस्करण कोरियामा मात्रै विक्री हुन्छ वा अन्य अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

नेपालमा हुन्डाइले उत्पादन गरेका कोना र आयोनीक फाइभ मोडल विक्री वितरण हुँदै आएको छ । सन् २०१८ देखि नेपालमा ईभी विक्री गर्दै आएको हुन्डाईले थपाथलीमा ईभीको छुट्टै शोरुमसमेत संचालन गर्दै आएको छ ।


