काठमाडौं । विश्व अटोमोवाइलमा जापानी ब्राण्डले गुणस्तरिय र टिकाउ कार उत्पादनमा महारथ हासिल गरेका छन् । अहिले विश्वकै सर्वाधिक कार उत्पादन र विक्री गर्ने टोयोटादेखि प्रिमियम कार बनाउने लेक्सससम्म जापानी ब्राण्ड हुन् ।
टोयोटा, सुजुकी, निसान, डायहात्शु, होन्डा, माज्दा, मित्शुवीसी, इसुजु, लेक्सस, सुबरु जस्ता विश्व प्रसिद्ध ब्राण्ड भएको देशमा अन्य देशमा उत्पादन भएका कार कति विक्री हुन्छ भन्ने कौतुहलता धेरैमा हुन सक्छ ।
यति धेरै कार उत्पादन हुने देशमा विक्री हुने टप १० ब्राण्डमा सबै जापानी ब्राण्ड नै रहेका छन् । यो तथ्यांक सन् २०२३ को तीन महिनाको हो । जनवरीदेखि मार्च अन्तिमसम्मको पहिलो क्वाटरमा जापानी बजारमा कुल १३ लाख ८१ हजार ५५८ यूनिट नयाँ कार विक्री तथ्यांक सार्वजनिक भएको छ ।
विक्री भएका कारको कुल संख्या मध्ये ४ लाख ६५ हजार ७१० यूनिट कार विक्री गर्दै टोयोटा पहिलो बनेको हो । टोयोटा अन्य ब्राण्डभन्दा निकै अगाडि रहेको छ । अर्को, जापानी ब्राण्ड सुजुकीले १ लाख ८१ हजार २६० यूनिट कार विक्री गर्दै दोस्रो स्थान सुरक्षीत गरेको छ ।
तेस्रो स्थानमा पनि जापानी ब्राण्ड डायहात्शु रहन सफल भएको छ । कम्पनी १ लाख ७६ हजार २८५ यूनिट कार विक्री गर्न सफल भएको हो । त्यसैगरी, चौथो स्थानमा अर्को जापानी ब्राण्ड होन्डा पर्न सफल भएको छ । होन्डाले यस अवधिमा १ लाख ६७ हजार ८ यूनिट कार विक्री गरेको छ ।
सूचीको पाँचौ स्थानमा निसान रहेको छ । निसानले यस अवधिमा १ लाख ४४ हजार २०७ यूनिट कार विक्री गरेको छ ।
सूचीको छैटौदेखि १० औं स्थानसम्म जापानी ब्राण्डकै कब्जा छ । छैटौं स्थानमा ५७ हजार २९४ यूनिटसहित माज्दा, सातौं स्थानमा २८ हजार ५४३ यूनिटसहित सुबरु, आठौं स्थानमा २८ हजार २५८ यूनिटसहित मित्शुवीसी, नवौं स्थानमा २८ हजार १३७ यूनिटसहित लेक्सस र दशौं स्थानमा १९ हजार ७१ यूनिट विक्री गर्दै इसुजु पर्न सफल भएको छ ।
यूरोपियन ब्राण्ड मर्सिडिज १३ हजार १३३ यूनिटसहित सूचीको ११ औं स्थानमा छ भने बीएमडब्लू ८ हजार ४३६ यूनिट सहित सूचीको १४ औं स्थानमा छ । अमेरिकी ब्राण्ड जीप २ हजार ९५० यूनिटसहित सूचीको १९ औं स्थानमा छ ।