सरकारको नियत भनेकै नेताको ‘मनोपोली’ जस्तो भएको छ । नेताहरु अहिलेपनि कसरी क्रान्ति गर्ने भनेर २० औं शताब्दीमा लेखिएका पुस्तक पढ्छन् । आजको प्रतिस्पर्धी विश्वमा सबैभन्दा ठूलो क्रान्ति नै टेक्नोलोजी र त्यसको उत्पादन भएको छ । यस्तो समयमा पढिने क्रान्तिका कितावले फगत निरासा बाहेक केही जन्माउँदैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय करिब २ महिना अगाडि यातायात ब्यवस्था विभागले बनाएर पठाएको फाइलमा लागेको धुलो टक्टकाउन लागि परेको छ ।
करिब ४ वर्षअघि केही यूवाहरुको पहलमा ‘यात्री’ नामक मोटरसाइकल ब्राण्डको स्थापना भयो । नेपालमै डिजाइन, विकास र उत्पादन गर्नेगरी स्थापना भएको यात्री ब्राण्डले हाम्रो जस्तो सम्पूर्ण सवारीसाधन आयात गरेर चढ्नु पर्ने देशमा नयाँ कुराको संचार नगर्ने कुरै भएन ।
नेपाली निर्माण ब्यवसाय र राजनीतिमा पहिचान बनाएको कालिका समूहको लगानीमा स्थापना भएको यात्री ब्राण्ड अहिले पनि निकै चर्चामा रहेको ब्राण्ड हो । यात्री ब्राण्डका उत्पादन नेपाली युवा इन्जिनियर असिम पाण्डे लगायतका टीमले डिजाइन गरेको हो । साथमा यूवा उद्यमी वत्सल पाण्डे लगायतले ब्यवस्थापन हेर्दै आएका छन् । लगानीको हिसावले ढुक्क र उत्पादनको गुणस्तरले पक्का मानिएपनि यात्रीले सरकार कै कारण सहि बाटो समात्न पाएन ।
अघिल्लो साताको अन्तिममा संघाई अटो शो २०२३ सुरु भएसँगै नेपाली मिडियामा एउटा समाचारले निकै चर्चा कमायो । ‘यात्री मोटरसाइकलको उत्पाद बन्द, यात्रीका टीम नै विदेश पलायन, सरकारले मोटरसाइकल दर्ता नगर्दा यात्रीका उत्पादन सधैंको लागि बन्द’ जस्ता शिर्षकमा समाचार प्रकाशित भएसँगै क्रान्तिकारी प्रधानमन्त्री पुष्पकमल दाहालको कानसम्म यो विषय पुग्यो ।
उसोत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदको विशेष समयमा बेल्दै यात्रीका उत्पादन दर्ता गर्ने बाटो बनाउन सरकारलाई आग्रह गरेका थिए । यातायात कार्यालयले नेपालमै उत्पादन हुने मोटरसाइकलको प्रज्ञापन पत्र नभएको भन्दै दर्ता गर्न नमान्दा यात्री अलपत्र परेको थियो । पुस अन्तिममा नै यातायात ब्यवस्था विभागले कार्यविधि बनाएर पठाएपनि त्यो पास हुन नसक्दा यात्रीको दर्ता प्रक्रिया सुरु हुन पाएन ।
प्रधानमन्त्रीको निर्देशन
हिजो आइतवार प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव शंकरदास बैरागी मार्फत यात्रीको दर्ता प्रक्रिया फास्ट ट्रायकबाट पुरा गर्न निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि यात्रीको दर्ता प्रक्रिया कसरी अगाडि बढ्छ, त्यो हेर्न बाँकी नै रहेपनि यसले अटो क्षेत्रमा नयाँ संदेश प्रबाह गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय करिब २ महिना अगाडि यातायात ब्यवस्था विभागले बनाएर पठाएको फाइलमा लागेको धुलो टक्टकाउन लागि परेको छ । यदि प्रधानमन्त्रीको निर्देशनले काम गर्ने हो भने, अबको केही दिनमा नै यात्रीको उत्पादन दर्ता सुरु हुनेछ । सँगै नयाँ उत्पादनले पनि तिब्रता पाउने छ ।
यात्रीको समस्या
अहिले यात्रीले करिब १०० यूनिट ‘पी-वान’ मोडल विक्री गरेको छ । सडकमा नम्बर प्लेट नलगाई हिड्दा ट्राफिक प्रहरीको कारवाहीमा पर्न थालेसँगै ग्राहकको गुनासो आउन थाल्यो । ग्राहकको गुनासो बढ्दो क्रममा रहेसँगै यात्रीले आफ्नो उत्पादन नै बन्द गर्नु परेको हो ।
यदि सरकारले फास्ट ट्रयाकबाट कानुन निर्माण गरेर दर्ता प्रक्रिया सुरु गरिदिने हो भने यात्री आफ्नो उत्पादन बढाउन लागि पर्नेछ । कम्पनीले नयाँ ‘पी-टु’ मोडलको रुपमा नयाँ स्कुटर समेत बजारमा ल्याउने योजना बनाइरहेको छ ।