काठमाडौं । हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।
नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी आउने भएपछि नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रोता लक्ष्मी इन्टरकन्टिनेन्टलले २५ वटा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो ।
क्रेटा ईभीलाई मास मार्केट ईभीको रुपमा लिइएको छ । कम्पनीले सबैभन्दा धेरै बिक्री हुने कम्प्याक्ट मिडसाइज एसयूभी क्रेटा ईभी नेपाल ल्याउने भएसँगै आक्रमक रुपमा पूर्वाधार निर्माणमा जुटेको हो ।
हुन्डाईले नेपालमा हाल ४५ वटा एसी चार्जिङ स्टेशन निर्माण गरी संचालनमा ल्याएको छ । तर, नयाँ ईभी भित्रिने बित्तिकै यसले माग नधान्ने देखेपछि कम्पनीले डीसी फास्ट चार्जिङ निर्माणलाई प्राथमिकतामा राखेको हो ।

कम्पनी जनरल मेनेजर दीपक थपलियाका अनुसार आगामी जनवरी भित्रै नेपालको मुख्य राजमार्गका ३ स्थानमा फास्ट चार्जिङ स्टेशन निर्माण गर्न लागिएको छ । देशका अन्य स्थानमा पनि चार्जिङ स्टेशन निर्माणका लागि अध्ययन भइरहेको उनले बताए ।
यसै वर्ष भित्रै देशभर २५ वटा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । ‘अहिलेसम्म सिटी बेस ईभी मात्र भएकाले हामीले मल, होटल तथा शोरुमहरुमा एसी चार्जिङ युनिट मात्र राख्दै आएका थियौं,’ उनले मेरोअटोसँग भने, ‘अब भने हाइवेमा समेत चल्ने क्रेटा ईभी आउने भएकोले डीसी फास्ट चार्जिङ स्थापना गर्न लागेको हौं ।’
थपलियाका अनुसार निर्माण गर्न लागिएको डीसी फास्ट चार्जिङ स्टेशन १०० किलाेवाट क्षमताकाे डबल गन रहने छ । अर्थात् एकैपटक दुईवटा ईभी चार्ज गर्न सकिनेछ ।

यस्तै, कम्पनीले जनवरी भित्रै २ वटा भेहिकल टु भेहिकल (भीटुभी) चार्जिङ भ्यान पनि ल्याउने भएको छ । यी भ्यानलाई मोबाइल चार्जिङ युनिटको रुपमा प्रयोग गरिने छ । कुनै पनि हुन्डाईका ईभी चार्ज सकिएर बाटोमै अलपत्र परेमा भीटुभी भ्यान लगेर उक्त ईभीमा चार्ज गरिन्छ ।
हुन्डाईले अहिले देशका विभिन्न सहरहरूमा होटल, मल तथा शोरुम लगायत ४५ स्थानमा ७ देखि २२ किलोवाटको एसी चार्जिङ पाेइन्ट निर्माण गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको कोना ईभी र आयोनिक ५ बिक्री वितरण गरिरहेको छ । फागुन पहिलो हप्तासम्म क्रेटा ईभी पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

