काठमाडौं । हुन्डाई ‘आयोनिक फाइभ एन’ पश्चिमा देशहरूमा निकै सफल मोडल मानिन्छ । कोरियन निर्माताको पहिलो प्योर ईभी क्रसओभर आयोनीक फाइभ मोडल विश्वका धेरै देशमा सफलतासहित बिक्री हुँदै आएको मोडल हो ।
नेपालमा पनि आयोनिक फाइभको रेगुलर मोडल बिक्रीको लागि उपलब्ध छ । यहाँ बिक्री हुँदै आएको आयोनिक फाइभ १२५ किलोवाटको इलेक्ट्रीक मोटर र ५८ किलोवाट आवरको एनसीएम ब्याट्रीमा उपलब्ध छ ।
अमेरिका लगायत पश्चिमा देशहरूमा ४७८ किलोवाटसम्मको इलेक्ट्रीक मोटरमा आयोनिक फाइभ एन बिक्री भइरहेको छ । जुन पीएसमा हेर्दा ६४१ सम्म हुन आउँछ । त्यसैले यो उच्च पर्फमेन्समा आधारित कार हो भन्न सकिन्छ ।
पावर र पर्फमेन्स कारको लागि उपयुक्त सडकको अवस्था भएका देशमा आयोनीक फाइभ एन बिक्री हुँदै आएको छ । नेपाल जस्ता देशमा यसको खोजी लगभग हुँदैन । तर, पनि आयोनिक फाइभ एनको सफलतासँग जोडिएका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
फिचर र पर्फमेन्स
हुन्डाईले इलेक्ट्रीक गाडी भए पनि यसमा फेक इन्जिन साउन्ड प्रदान गरेको छ । ड्यूल मोटर सेटअप सहितको अल ह्वील ड्राइभ अप्सन र ट्रयाक मोड जस्ता फिचरले चालकलाई रोमाञ्चक बनाउने छ ।

यसले सुपरकारहरूलाई सिधा टक्कर दिने अटोपण्डितहरूको दाबी छ । यसलाई चलाउनेहरूले सामान्य ईभीभन्दा विल्कुलै फरक ड्राइभिङ प्लेजर पाउने बताएका छन् ।
धेरै पुरस्कार जित्यो
सन् २०२५ मा विश्वकै उत्कृष्ट इलेक्ट्रीक पर्फमेन्स कार, मोटर अथोरिटीको ‘बेस्ट कार टु बाइ’, कारबज बेस्ट ईभी जस्ता अवार्ड हात पार्न सफल भएको छ ।

बिक्रीमा वृद्धि
पर्फमेन्स कार किन्ने धेरै देशमा यसको बिक्रीमा उछाल आइरहेको छ । अमेरिकामा मात्रै मासिक औषत ५ हजार युनिट आयोनिक फाइभ बिक्री हुन्छ । त्यसमा ३०० युनिट माथि ‘एन’ सिरिज बिक्री हुन थालिसकेको छ ।

