काठमाडौं । आज दशैंको पाँचौं दिन । काठमाडौं उपत्यकामा बसोबास गर्नेहरू दशैं मनाउन धमाधम आफ्नो गाउँ फर्किरहेका छन् ।
असोज १ गते यता मात्रै सार्वजनिक यातायातमा ३ लाख बढी यात्रु उपत्यकाबाट बाहिरिसकेका छन् । यस वर्ष दशैंको अग्रिम टिकट बुकिङ खुलाइएको छैन । त्यसैले यात्रुले आफू जाने दिनमा काउन्टरमै गएर टिकट काट्नुपर्छ ।
दशैंमा यात्रुको चाप बढी हुने हुनाले केही यातायात व्यवसायीले बढी भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । यस वर्ष दशैंमा सरकारले बसभाडा बढाएको छैन ।
अहिले २०८१ पुस २२ गते बढाइएको भाडादर नै कायम छ । बसहरूले सोही अनुसार मात्रै यात्रुसँग भाडा लिन पाउने ट्राफिक प्रहरीले जनाएको छ ।
यदि कुनै सार्वजनिक सवारीले तोकेभन्दा बढी भाडा मागेमा उजुरी गर्न ट्राफिक प्रहरीले आग्रह समेत गरेको छ । ट्राफिक प्रहरीका अनुसार बढी भाडा असुलेको थाहा भएमा ३ ठाउँमा उजुरी गर्न सकिने छ ।
गाडीवालाले आफूसँग बढी भाडा मागेमा यात्रुले नजिकैको यात्रु सहायता कक्षमा, नजिकैको प्रहरी चौकीमा सम्पर्क राखी उजुरी गर्न सक्नेछन् ।
यदि नजिकै सहायता कक्ष वा प्रहरी नभएमा सिधै प्रहरीको हटलाइन १०० मा फोन गरेर गाडी नम्बर टिपाउने सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
बढी भाडा असुले गाडीलाई कानुन अनुसार कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

