दशैं लगत्तै नयाँ इलेक्ट्रीक ह्याचब्याक नेपाल आउने, मूल्य एकदमै आकर्षक

काठमाडौं । नाडा अटो शो २०२५ मा नै प्रदर्शनी गर्ने योजनासहित सीजी मोटर्सले मगाएको ह्याचब्याक कार एवोन युटी दशैं लगत्तै बिक्री सुरू हुने भएको छ । यसअघि चीन-नेपाल जोड्ने नाका अवरुद्ध हुँदा आउन नसकेको नयाँ ह्याचब्याक कार निकै प्रतिस्पर्धी मूल्यमा आउन लागेको हो ।

थापाथलीमा रहेको सीजीको सुविधा सम्पन्न शोरुम जेन-जी आन्दोलनमा जलेको कारण कम्पनीले केही ढिलोगरी एवोन युटी सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार चाडपर्वकै बीचमा नयाँ इलेक्ट्रीक ह्याचब्याक कार बजारमा आउने छ ।

चीनमा निकै चर्चा र बिक्री पाइरहेको जीएसी एवोन युटी ह्याचब्याक कारको मुख्य प्रतिस्पर्धी मोडल बीवाइडी डल्फिन हो । मूल्यको आधारमा भने डल्फिनको तुलनामा युटी १ हजार ३५० अमेरिकी डलर कम राखेर बिक्री हुँदै आएको छ ।

जीएसीले एवोन युटी साइजको आधारमा पनि पर्फेक्ट ह्याचब्याक लाग्छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलबेस छ । साथै, १७ इन्चको अलोय ह्वील पनि उत्कृष्ट देखिन्छ ।

यसमा ४४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ब्याट्री यसमा पाउन सकिन्छ । उक्त ब्याट्रीलाई सिंगल चार्ज गर्दा ३४० किलोमिटर हाराहारी गुडाउन पुग्नेछ । जीएसीले यसमा १०० किलोवाटको पावर मोटर दिएको छ ।

एवोन युटी ह्याचब्याकमा लामो ह्वीलबेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ । निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको कारमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट दिएकोछ । साथै, हेडलाइट र फगलाइटको डिजाइन पनि पृथक देखिन्छ ।

एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ । ठूलो एयर इन्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बीनेसन हो । पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचब्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ ।

यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । सुरक्षामा कुनै सम्झौता नभएको एवोन युटीको मूल्य ३५ लाख हाराहारीबाट सुरू हुने अनुमान गरिएको छ ।


Back_to_top