हुन्डाईको दुई इलेक्ट्रीक कारको मूल्य सार्वजनिक (सूचीसहित)

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो कोना र आयोनिक इलेक्ट्रीक कारको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले कोना क्रसओभर र आयोनिक सेडानको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

हुन्डाईले आफ्नो चर्चित क्रसओभर एसयूभी कोनाको मूल्य ५६ लाख ९६ हजार र ७१ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ । साथै, कम्पनीले विक्री गर्ने कम्प्याक्ट सेडानको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको हो । आयोनिक फेसलिफ्ट २०२० मा नै नेपाल आएको थियो ।

हुन्डाई कोना किन्ने ग्राहकले दुई व्याट्री अप्सन पाउने छ । कोनामा प्रयोग भएको ३९.२ किलोवाट आवरको व्याट्रीले ३०० किलोमिटरभन्दा माथि रेञ्ज दिन्छ भने ६४ किलोवाट आवरको व्याट्रीले फुल चार्जमा ४८० किलोमिटर रेञ्ज दिने डब्ल्यूएलटीसीले प्रमाणित गरेको छ । यी दुई मध्ये सानो क्षमताको व्याट्री जडान भएको गाडीको मूल्य ५६ लाख ९६ हजार तोकिएको छ भने ठूलो व्याट्री युक्त कोनाको मूल्य ७१ लाख ९६ हजार तोकिएको छ ।

हुन्डाई आयोनिकमा ३८.३ किलोवाट आवरको व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई एक पटक फुलचार्ज गर्दा २७० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

आयोनिक र सानो क्षमताको कोनामा १०० किलोवाटको मोटर जडान गरिएको छ भने ठूलो साइजको व्याट्री भएकाे कोनामा १५० किलोवाट क्षमताको मोटर रहेको छ । हुन्डाईले नेपालमा विक्री गर्ने कोना र आयोनिक दुबै मोडल कोरियामा उत्पादन भएका हुन् ।


Back_to_top