काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार टोइङ कम्पनीको सहायतामा काठमाडौं ल्याउने गरेकाले आयोनीक-५ लाई पनि त्यसैगरी ल्याएको हो ।
विश्वभर नै चर्चा कमाएको इलेक्ट्रीक क्रसओभर आयोनीक-५ लाई हुन्डाईले ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो । यो आर्किटेक्चरमा बनेको कारण यसले उच्च क्षमताको चार्जर सपोर्ट गर्छ । यसलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
हुन्डाईले नेपाल ल्याएको आयोनीक-५ मा ५८ किलोवाट आवरको व्याट्री दिइएको छ । सोलार रुफको प्रयोग भएको यो कारलाई वार्षिक २ हजार किलोमिटर चलाउन पुग्ने इनर्जी सोलारबाट प्राप्त गर्न सकिन्छ ।
भविष्य उन्मुख डिजाइनमा तयार भएको आयोनीक-५ को भित्र क्याविन पनि निकै उत्कृष्ट रहेको छ । आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न मिल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो ।
लामो ह्वीलवेस भएको आयोनीक-५ को मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी ८५ लाखदेखि ९० लाख भित्रै यसको मूल्य कायम हुने अनुमान गर्न सकिन्छ ।

