नयाँ हायर पर्चेज कम्पनी खोल्ने बाटो खुल्ला, व्याजदरमा अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था २०७०’ को तेस्रो संसोधन २०७८ सार्वजनिक गर्दै नयाँ हायर पर्चेज कम्पनी खोल्ने बाटो खुल्ला गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था २०७८’ बमोजीम प्रक्रिया पुरा गर्ने कम्पनीहरुलाई स्वीकृति दिने तयारी गरेको हो ।

‘सबै मापदण्ड पुरा गरेर आउने कम्पनीले स्वीकृत पाउने छन् । प्रक्रिया पुरा गरेर आवेदन दिन सकुन् भनेर नै राष्ट्र बैंकले नीतिगत र प्रक्रियागत व्यवस्थाको संसोधन गरेको हो’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलले मेरोअटोसँग भने ।

केन्द्रिय बैंकले हायर पर्चेज कम्पनी खोल्न यसअघि देखिनै ३० करोड चुक्तापुँजी अनिर्वाय गरेको छ । यस्ता कम्पनीले आफ्नो पुँजीको १० गुणाभन्दा बढी ऋण वा सापटी लिन पाउने छैनन् । साथै, नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले ४ प्रतिशतभन्दा बढी व्याजदर अन्तर गर्न पाउने छैनन् । यसअघि हायर पर्चेज कम्पनीले ९/१० प्रतिशतमा कर्जा लिएर १६ देखि १८ प्रतिशतसम्ममा कर्जा दिदै आएका थिए ।

नयाँ संसोधनबाट हरेक त्रैमासिक अवधिको कारोबार विवरण राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै, बैंक तथा वित्तिय संस्थाले जस्तै हायर पर्चेज कम्पनीले पनि कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने भएको छ । यदि कसैले ६ महिनासम्म मासिक किस्ता नतिरेको खण्डमा ५० प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने बनाइएको छ ।


Back_to_top