यस्तो देखियो आयोनीक-९, रेन्ज ६२० किमी, नेपाल पनि आउने

काठमाडौं । हुन्डाई आयोनीक-९ को आधिकारीक तस्बिर बाहिर आएको छ । कोरियन निर्माताले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनीक-९ को तस्बिर बाहिर ल्याएको हो ।

हुन्डाईले आयोनीक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री दिने भएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यो रेन्ज डब्लूएलटीपीमा आधारित हुनेछ ।

हुन्डाईको इजीएमपी आर्किटेक्चरमा आधारित आयोनीक-९ लाई ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । त्यसैले यसलाई ३५० किलोवाट क्षमताको डिसी चार्जरले चार्ज गर्दा १० देखि ८० प्रतिशत पुग्न केबल २४ मिनेट लाग्छ ।

कम्पनीले आयोनीक-९ लाई रियर ह्वील र अल ह्वील ड्राइभ अप्सनमा ल्याउने छ । यसको रियर ह्वील ड्राइभ मोडलमा १६० किलोवाट आवरको ब्याट्री रहनेछ । जबकी अल ह्वील ड्राइभ मोडलमा ३२० किलोवाटको मोटर पाउन सकिन्छ । यसको पीक टर्क भने ३५० एनएम हुनेछ ।

करिब २ हजार ५०० केजी तौल रहने आयोनीक-९ को अगाडि र पछाडि नै ५०ः५० प्रतिशत तौल बाँडिएको छ । त्यसैले यसलाई जस्तोसुकै बाटोमा पनि सहजै चलाउन सकिने कम्पनीको दावी छ ।

निकै लग्जरी फिचरले भरिपूर्ण आयोनीक-९ मा १८९९ एमएम अग्लो हेडरुम र २०५० एमएम लामो लेगरुम पाउन सकिन्छ । एड्जस्ट गर्न मिल्ने सेन्टर कन्सोल प्रयोग भएको एसयूभी ७ सिट क्षमताको हुनेछ ।

प्रिमियम ह्यासबोर्ड, लेदर सिट, ६२० लिटरको बुट स्पेश, पानारोमिक शनरुफ, १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १२ इन्चकै इन्ट्रुमेन्ट क्लष्टर, एम्बियन्ट लाइट, छतमा दिइएको एसी भेन्ट, १०० वाटको टाइप सी पोर्ट, बोसको ८ मुख्य स्पीकर र १४ वटा अप्सनल स्पीकर सहित आयोनीक-९ बजारमा आउने छ ।

सुरक्षाको लागि यसमा १० वटा एयरब्याग, एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) लगायतका फिचर छन् । ५०६० एमएम लामो, १९८० एमएम चौडा र १७९० एमएम अग्लो आयोनीक-९मा ३१३० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

हुन्डाईले आयोनीक-९मा १९, २० र २१ इन्चको फरक फरक ह्वील साइज अफर गरेको छ । सम्पूर्ण लाइट एलइडी रहेको यो एसयूभी नेपाली बजारमा पनि आउने मोडल हो । सम्भवत नेपाली बजारमा यसको रियर ह्वील ड्राइभ भर्सन उपलब्ध हुनेछ ।


Back_to_top