हुन्डाई–कियाको नयाँ खोज, इलेक्ट्रीक कार चार्ज गर्न तार जोड्नु नपर्ने (भिडियोसहित)

छाड्नुस् इलेक्ट्रीक भेहिकल प्लगइन् गर्ने झन्झट अब चाँडै नै तपाईंको इलेक्ट्रीक आफैँ पार्किङ्ग र चार्ज हुने प्रविधि आउँदैछ । अब इलेक्ट्रीक भेहिकल चार्जिङ्गको नयाँ टेक्नलोजी विकास सँगसँगै गाडीलाई चार्ज गर्न तार तानेर जोडी रहनुपर्ने छैन । 

हुन्डाई किया ग्रुपले आफ्नो नयाँ इनोभेसन कन्सेप्टको भिडियो सार्वजनिक गरेको छ । जसमा अटोमेटिक पार्किङ्ग तथा वायरलेस चार्जिङ्ग सिस्टमसमेत रहेको छ । हुन्डाई ग्रुपले यसलाई ‘अटोमेटेड भ्याले पार्किङ्ग सिस्टम’ (एभीपीएस) नाम दिएको छ । 

कोरियन अटोमोवाइल कम्पनीले यो नयाँ कन्सेप्ट टेक्नोलोजीलाई ‘हुन्डाईज स्टनिङ्गले फिल रग कन्सेप्ट’ भनेको छ । यो दुईवटा टेक्नोलोजी वायरलेस चार्जिङ्ग तथा अटोमेटिक पार्किङ्ग कन्सेप्टको विकाससँगै इलेक्ट्रीक गाडीको बिक्रीमा बृद्धि हुने र भविष्यमा आउने पार्किङ्ग र चार्जिङ्ग स्थानको अभावसमेत नहुने कम्पनीले विश्वास लिएको छ । हुन्डाईले सेल्फ डाइभिङ्गको सफल प्रयोग आफ्नो नयाँ मोडल नेक्सोमार्फत् देखाइसकेको छ ।

 

यस कन्सेप्ट टेक्नोलोजीमा देखाइएअनुसार कार्यालयमा आफ्नो इलेक्ट्रीक कारबाट ओर्लिएपछि गाडी अटोनोमस ड्राइभिङ्गको मद्दतले पार्किङ्गमा रहेको वायरलेस चार्जिङ्ग पोर्टमाथि गएर पार्क हुन्छ र ब्याट्री फूल चार्ज भएपछि आफैँ सामान्य पार्किङ्ग स्टेसनमा गएर बस्छ । 

चालक कार्यालय बाहिर निस्कनुपर्दा उसको इसारमा पार्किङ्ग स्थलबाट आफैँ चालकसम्म ड्राइभ भएर आउनेछ । यो सम्पूर्ण प्रक्रिया सवारीधनीले आफ्नो स्मार्ट फोनको एपले कन्टोल गर्ने तथा अपडेट लिन सक्नेछन् । 

ठूला–ठूला कार्यालयहरूमा पार्किङ्ग स्थल टाढा रहने हुनाले चालकलाई पार्किङ्गमा गएर आफ्नो सवारी छाड्ने र फेरि लिन जाने समस्यासमेत यो टेक्नोलोजीले समाधान गर्नेछ । 

हुन्डाई–कियाले यो नयाँ टेक्नोलोजीको लन्चिङ्ग भने लेभल–४ अटोनोमस भेहिकलको विकाससँगै सन् २०२५ सम्ममा गर्ने जनाएको छ । ग्रुपले धेरै स्मार्ट सहरहरूमा सेल्फ ड्राइभिङ्ग कार भने सन् २०२१ सम्ममा लन्च गर्ने तयारी छ । सन् २०३० सम्ममा फुल्ली अटोनोमस भेहिकलको लन्च गर्ने जनाएको छ । 


Back_to_top