तयार भयो नयाँ कोना, पहिलेभन्दा ब्यापक परिवर्तन

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले आफ्नो पहिलो इलेक्ट्रीक क्रसओभर कोनाको नयाँ जेनेरेशन मोडल तयार गरेको छ । कम्पनीले नयाँ कोना इलेक्ट्रीक २०२४ वाट विश्व बजारमा उतार्न लागेको हो ।

नयाँ कोना पहिलेभन्दा धेरै रेन्जको साथ नयाँ फ्यूचरिष्टिक डिजाइनमा आउने भएको हो । यसको नोज थप एरोडायनामिक बनाइएको छ । साथै, स्प्लीट हेडल्याम्पलाई निरन्तरता दिइएको छ ।

जेनेरेशन परिवर्तनसँगै यसको अगाडिको भागमा ब्यापक परिवर्तन देख्न सकिन्छ । पहिलो कुरा यसको फ्रन्ट डिजाइन नै पूर्ण नयाँ हो । त्यस्तै बोनेटको वारपार दिइएको एलइडी डीआरएलले यसलाई निकै स्मार्ट देखाएको छ ।

आयोनीक-५ को साइड जस्तै प्यारामेन्ट्रीक डिजाइन थिममा आधारित नयाँ कोना थप स्लीक डिजाइनमा तयार भएको छ । यसको ड्रयाग कोफिसियन्ट ०.२९ बाट घटेर ०.२७ मा झरेको छ ।

नयाँ जेनेरेशन कोना इलेक्ट्रीकमा आयोनीक-५मा जस्तै गाडी गुड्दा खुल्ने र रोकिदा बन्द हुने एक्टीभ ग्रिल सटर दिइएको छ । यसले ब्याट्री र मोटरकोे तापक्रम घटाउन मद्दत गर्छ ।

पहिलाको भन्दा ठूलो साइज र लामो ह्वीलवेसमा आउन लागेको नयाँ कोना ४३५६ एमएम लामो, १८२६ एमएम चौडाई , १५८० एमएम अग्लो रहेको छ । यसमा २६६० एमएम लामो ह्वीलबेस छ ।

अहिले बजारमा बिक्री हुँदै आएको कोनाभन्दा नयाँ जेनेरेशन मोडल १५० एमएम बढी लामो, २५ एमएम फराकिलो र ६० एमएम लामो ह्वीलवेसको साथ आउने छ । नयाँ कोना ईभीमा ७२२ लिटरको बुटस्पेस रहेको छ ।

हुन्डाईले नयाँ कोना ४८.६ किलोवाट आवर र ६४.८ किलोवाट आवरको दुई फरक साइजको ब्याट्री प्रयोग गरेको छ । यसमा प्रयोग भएको ठूलो ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

हुन्डाईले ४०० भोल्ट आर्किटेक्चरमा तयार गरेको नयाँ कोना इलेक्ट्रीकलाई डिसी फास्ट चार्जरले ४३ मिनेट चार्ज गर्दा १० बाट ८० प्रतिशतसम्म रिचार्ज हुने बताइएको छ ।

नयाँ कोना इलेक्ट्रीक पनि यसअघिको जस्तै ९९ र १५० किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध हुनेछ । साथै, यसमा १.७ किलोवाटको पावर आउटपुट रहेको ‘भेहिकल टु लोड सिस्टम’, नयाँ स्मार्ट रिजेनेरेटिभ सिस्टम, एम्बीयन्ट लाइट सहितको सुधारियको इन्टेरियर पाउन सकिन्छ ।

बडी कलर इन्टेरियर एसेन्ट्स, इन्फोटेन्मेन्ट सिस्टम र ड्राइभर इन्फर्मेसनको लागि १२.३ इन्चको ड्यूल प्यानारोमिक स्कृन यसमा पाउन सकिन्छ । आयोनीक-५ को जस्तै गियर सेलेक्टर नयाँ कोनामा पनि दिइएको छ ।


Back_to_top