पछिल्लो दिनमा विश्व अटोमोवाइल बजारमा नयाँ–नयाँ कन्सेप्ट कार सार्वजनिक गर्दै अटो अन्तर्राष्ट्रिय मोटर शोहरुमा ध्यान खिच्न सफल दक्षिण कोरियाली अटो जाइन्ट कम्पनी हुन्डाईले सावपाउलो मोटर शोमा नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले ६ नोभेम्बरबाट सुरु हुने सावपाउलो इन्टरनेशनल अटो शोमा ‘सागा कन्सेप्ट’को इलेक्ट्रीक कार सार्वजनिक गर्ने उद्देश्यसहित कारको टिजर बाहिर ल्याएको हो ।
स्केच डिजाइनमा कारको टेल ल्याम्प र त्यसमा दिइएको एलइडी लाईट निकै आर्कषक देखिएको छ । साथै नयाँ कन्सेप्ट कारको ग्राउन्ड क्लियरेन्स निकै उच्च रहेको तस्विरमा देखिएको छ ।
कम्पनीले यसको लुक्स ग्रान्ड आई–१० र आई–२० बाट प्रभाबित भएर बनाएको जस्तो देख्न सकिन्छ । यो नयाँ इलेक्ट्रीक कार स्मल एसयुभीको रुपमा ल्याउने तयारीमा कम्पनी जुटेको छ ।
कम्पनीले ब्राजिल, भारतलगायतका देशको लागि एउटै प्लान्टबाट गाडीहरु उत्पादन गर्ने भएकाले यो कार भारतीय प्लान्टबाट उत्पादन हुने आँकलन गरिएको छ ।

