हुण्डाईले सामान्य कारका लागि स्पोर्टस् कारकाे जस्तो गियर लिभर बनाउने

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले सामान्य कारमा पनि स्पोर्टस कारको जस्तै गियर लिभर प्रयोग गर्ने योजना बनाएको छ ।
जसका लागि हुण्डाईले अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा एक नयाँ गियर बक्स प्रविधिको पेटेन्ट दर्ता गराएको हो ।

यस्तै प्रकारका प्रविधिहरू यसअघि कोएनिगसेग सीसी ८५० हाइपरकारमा देखिएको छ । पोर्शले पनि यस्तै प्रकारको प्रशारणका लागि पेटेन्ट दर्ता गरेको छ ।

हुन्डाईले दर्ता गरेको पेटेन्ट अनुसार यो गियर लिभरले म्यानुअल र अटोमेटिक दुवै मोडमा काम गर्छ । तर, यसको गियर बक्ससँग कुनै पनि भौतिक वा मेकानिकल जडान गरिएको हुँदैन । यो प्रविधि सफ्टवेयर र इलेक्ट्रोनिक संकेतको आधारमा चल्नेछ । चालकले चाहेको खण्डमा यसलाई अटोमेटिक गाडी जस्तै ड्राइभ मोडमा राखेर चलाउन सक्छन् । ट्राफिक जाम भएको अवस्थामा यो निकै उपयोगी हुन्छ । तर, चालकले रोमाञ्चक ड्राइभिङको अनुभव लिन चाहेमा यसलाई म्यानुअल मोडमा बदल्न सकिन्छ ।

म्यानुअल मोडमा यसले ६ वटा गियर र एउटा रिभर्स गियर भएको ‘एच प्याटर्न’ स्पोट्र्स कार जस्तो गियर बक्सको रूपमा काम गर्छ। पेटेन्ट विवरण अनुसार यसमा क्लच पेडलको पनि व्यवस्था गरिएको छ । जसले चालकलाई वास्तविक म्यानुअल गाडी चलाएको जस्तै भौतिक महसुस गराउँछ ।

त्यस्तै, यो प्रविधि ब्याट्रीबाट चल्ने विद्युतीय र आइस दुवै गाडीमा प्रयोग गर्न मिल्छ । तर, विद्युतीय गाडीहरूमा कुनै मेकानिकल गियर नहुने भएकाले सफ्टवेयरको माध्यमबाट यो प्रणाली जडान गर्न धेरै सहज र सस्तो हुनेछ । इन्धन गाडीमा यो प्रणाली जडान गर्दा लागत महँगो पर्न सक्छ ।

हुण्डाईले आफ्नो हाइ पर्फमेन्स भएका प्रिमियम वा स्पोर्टस् कार (एन लाइन, जेनेसिस) मा चालकलाई ड्राइभिङको वास्तविक आनन्द र अनुभव दिनका लागि यो प्रविधिको विकास गरेको हो । यद्यपि, पेटेन्ट दर्ता हुँदैमा यो प्रविधि तुरुन्तै बजारमा आउने ग्यारेन्टी भने हुँदैन

हुण्डाईले यसलाई व्यावसायिक रूपमा उत्पादन गरिने मोडलमा प्रयोग गर्ने योजना बनाइरहेको छ वा छैन भन्ने निश्चित छैन । तर हुण्डाईको यो नयाँ ट्रान्समिसन सेटअप भविष्यका कुनै पनि ईभी मोडलमा प्रयोग हुन सक्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top