काठमाडौं । कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम-कागबेनी सडकखण्डको स्तरोन्नति सुरू भएको छ ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार जोमसोम-कागबेनी ९ किलोमिटर सडकको स्तरोन्नति सुरू गरेको हो ।
आयोजनाले करिब ७ करोड रुपैयाँ लागतमा उक्त सडक स्तरोन्नति थालेको हो । २०७६ अघि कालोपत्र सम्पन्न भइसकेको जोमसोम-कागबेनी सडक बाढीपहिरो लगायत कारणले क्षति पुगेको छ । उक्त सडकको केही ठाउँमा भासिएको, कतै नाला बिग्रिएको, पर्खाल भत्किएको, कालोपत्र उप्किएको छ ।
त्यसैले नयाँ ठेक्का लगाई उक्त सडकको स्तरोन्नति थालिएको हो । यो सडकको ठेक्का कालिमाता-थापाकाजी-रसुवा जेभी कन्ट्रक्सनले पाएको छ ।
कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्मा जोमसोम-कागबेनी सडक स्तरोन्नतिका लागि करिब ७ करोड लागतमा ठेक्का लगाइ जेठ पहिलो सातादेखि काम थालिएको जानकारी दिए ।
उनका अनुसार कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम-कागबेनी कालोपत्र सडकको संरक्षण, स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको बताए ।
सम्झौता अनुसार उक्त सडक ४ महिना भित्र (२०८३ भदौ १५ गते) भित्र सम्पन्न गर्नुपर्ने छ । ९ किमी यस सडकखण्डमा १ हजार ८०० घनमिटर ग्याबिन वाल, ३ हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसीसी ढलान लगायत काम गरिने छ ।


