काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले भारतमा लगानी विस्तार गर्ने रणनीति यसअघि नै सार्वजनिक गरेको थियो । त्यही रणनीति अनुसार हुन्डाईले भारतको पूर्णेमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्ने सम्झौंतामा हस्ताक्षर गरेको हो ।
भारतीय बजारमा बढ्दो कारको माग सम्बोधन गर्न हुन्डाईले प्लान्ट थप्न लागेको हो । सन् २०१७ मा जनरल मोटर्सले भारतीय बजारबाट बाहिर निस्कने घोषणा गरेसँगै पूर्णे प्लान्ट विक्री गर्ने तयारी थालेको थियो । जनरल मोटर्सको उक्त प्लान्ट ग्रेटवाल मोटर्सले खरिद प्रक्रिया अगाडि बढाएको थियो । तर, महाराष्ट्र सरकारले अनुमति नदिएपछि यसको खरिद विक्री प्रक्रिया रद्द भएको थियो । जुन २०२२ मा ग्रेटवालसँगको डिल रद्द भएको हो ।
ग्रेटवाल मोटर्ससँगको सम्झौंता रद्द भएपनि उक्त प्लान्ट खरिद गर्न कोरियन ब्राण्ड हुन्डाई र भारतीय ब्राण्डहरु महिन्द्रा तथा टाटाले चासो देखाएका थिए । तर, उक्त रेसमा बाजी मार्दै हुन्डाईले सम्झौंता गरेको हो । अहिले पनि उक्त प्लान्टमा जनरल मोटर्सले स्टाफ लगायतको समस्या सम्बोधन गर्न बाँकी रहेको छ । उक्त समस्या जनरल मोटर्सले पुरा गरेसँगै प्लान्ट खरिद विक्री टुङ्गने छ ।
हुन्डाईले सन् २०२८ सम्ममा भारतीय बजारमा थप ४ हजार करोड लगानी गर्ने घोषणा गरेको थियो । त्यही घोषणा अनुसार नयाँ खरिद गर्ने प्लान्टबाट निर्यातको लागि कार उत्पादन गर्ने र ईभीको लागि पूर्ण तयारी गर्ने सम्भावना रहेको रिपोर्टहरुमा उल्लेख छ ।
करिब २५ वर्षसम्म भारतीय बजारमा रहेको जनरल मोटर्सले यो प्लान्टमा करिब ११ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको थियो । यो प्लान्ट भने कम्पनीले सन् २००८ मा अपग्रेड गरेको थियो । उक्त प्लान्टले वार्षिक १ लाख ३० हजार यूनिट कार र १ लाख ६० हजार यूनिट इन्जिन उत्पादन गर्ने क्षमता राख्छ ।

