काठमाडौं । नेपाली बजारमा उपलब्ध महिन्द्रा र मारुती सुजुकीको दुई कार कम मूल्यमा एसयूभीको अनुभव दिने किसिमको रहेको छ ।
अहिले बजारमा उपलब्ध महिन्द्रा केयूभी १०० र मारुती सुजुकी इग्नीस एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले केयूभी १०० को बिक्री वितरण गर्दै आएको छ । त्यस्तै मारुती सुजुकी इग्नीसलाई सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको छ । यी दुबै कार विगत लामो समयदेखि नेपाली बजारमा बिक्री वितरण हुँदै आएका मोडल हुन् ।
भारतीय बजारमा उत्पादन भएका यी दुबै गाडीमा लगभग समान क्षमताको इन्जिन रहेको छ । बडी साइज समेत दुबैको उस्तै छ । दुबै गाडीमा १.२ लिटर क्षमताको इन्जिन रहेको छ । महिन्द्रा केयूभी १०० मा रहेको इन्जिन थ्रि सिलिण्डर हो भने, इग्नीसमा रहेको इन्जिन फोर सिलिण्डर हो ।

केयूभी १०० मा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा ८२ बीएच पावर प्रदान गर्छ भने, इग्नीसमा रहेको इन्जिनले ६००० आरपीएममा ८२ बीएच पावर जेनेरेट गर्छ । टर्क पनि दुबैको उस्तै रहेको छ । केयूभी १०० को इन्जिनले ११५ एनएम र इग्नीसले ११३ एनएम टर्क प्रदान गर्छ ।
दुबै कारको लम्बाई समान ३७०० एमएम रहेको छ । चौडाईको आधारमा केयूभी केही ठूलो रहेको छ । यसको चौडाई १७३५ एमएम छ भने इग्नीसको १६९० एमएम मात्रै रहेको छ । उचाईमा पनि केयूभी १०० धेरै अग्लो रहेको छ । यसको उचाई १६५५ एमएम हुँदा इग्नीसको १५९५ एमएम मात्रै रहेको छ ।
ह्वील वेसमा इग्नीस उत्कृष्ट रहेको छ । इग्नीसको ह्वील वेसको लम्बाई २४३५ एमएम रहेको छ भने, केयूभीको ह्वील वेस २३८५ एमएम मात्रै रहेको छ । ग्राउण्ड क्लियरेन्समा पनि इग्नीस अगाडि रहेको छ । इग्नीसको ग्र्राउन्ड क्लियरेन्स १८० एमएम छ भने, केयूभीको १७० एमएम मात्रै रहेको छ ।
सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, सेन्ट्रल लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर दुबै मोडलमा उपलब्ध रहेका छन् ।
मूल्य
महिन्द्राले नेपाली बजारमा केयूभी १०० का विभिन्न ५ भेरियन्ट बिक्री गर्दै आएको छ । कम्पनीले यसको के४ भेरियन्टको मूल्य २७ लाख ७५ हजार, के६ भेरियन्टको मूल्य २९ लाख ६५ हजार, के८ भेरियन्टको ३१ लाख ४५ हजार, के८ डिटीको ३१ लाख ७५ हजार र के६ डि७५ को मूल्य ३४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि इग्नीसको तीन भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ । इग्नीस डेल्टाको मूल्य २७ लाख ९९ हजार, इग्नीस जेटाको मूल्य ३० लाख ९९ हजार र इग्नीस अल्फाको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सम्पूर्ण गाडिहरूकाे मूल्य हेर्न यहाँ क्लिक गर्नुहाेस् ।


