दुईवटा प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिश्चित, थप ४ प्रदेशमा वितरण सुरु हुने

काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अब देशका ५ वटा प्रदेशबाट वितरण गरिने भएको छ । सरकारले प्रदेशका नाम टुंगो लगाएका बागमती बाहेक अन्य ४ वटा प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको हो । नामको टुङ्गो नलागेका प्रदेश १ र २ मा भने इम्बोस्ड नम्बर प्लेट अनिश्चित भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबा इम्बोस्ड नम्बर प्लेट वितरण तथा जडान गर्न लागेको हो । यसअघि बागमतीमा मात्रै इम्बोस्ड वितरण भइरहेको थियो ।

विभागका महानिर्देशक नवराज घिमिरेका अनुसार इम्बोस्ड नम्बर प्लेट काठमाडौंमा बनाउने र सम्बन्धित प्रदेशगत यातायात कार्यलयमा पठाइने छ । उक्त इम्बोस्ड नम्बर प्लेट प्रदेश कार्यालयहरुबाटै जडान गर्ने काम हुनेछ ।

प्रदेशहरुमा ‘पर्सनलाइजेसन सेन्टर’ मा जनशक्ति राख्न कम्पनी छनोट गरी सकेको र उक्त जनशक्तिलाई प्रदेश पठाउने तयारी भइरहेको उनले बताए । पोखरा र बुटवलमा कार्यालय स्थापना भइसकेको विभागले जनाएको छ । अन्य प्रदेशमा पनि कार्यालय स्थापना गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने उनले बताए ।

‘अब हामीले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरी सकेका छौँ, प्रदेशहरुमा पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने व्यवस्था गर्दै छौँ,’ घिमिरेले भने ।

गत मंसिर १ गतेबाट नयाँ दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ । त्यस्तै, आगामी फागुनबाट नामसारी हुने सवारी साधनमा पनि अनिवार्य गरिने छ । जेठ १ गतेबाट नवीकरण गर्न आउने सवारीहरु समेतमा इम्बोट नम्बर प्लेट अनिवार्य लगाउनुपर्ने गरी राजपत्र निकालिएको छ ।

अहिले निजी तथा सरकारी सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने काम गरिएको छ । २०८० सम्ममा २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राखिने विभागको लक्ष्य रहेको छ । हालसम्म ४० लाख बराबर सवारी दर्ता भएका छन् ।

सवारीधनीले इम्बोस्ड नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि २ हजार ५००, तीनपाङ्ग्रेका लागि २ हजार ८००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ राजश्व जम्मा गर्नुपर्नेछ ।


Back_to_top