काठमाडौं । सरकारले पुराना हवाई जहाज आयातमा कडाइ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ वर्षपछिनयाँ हवाई नीति बनाउँदै पुराना जहाज आयातमा कडाइ गर्न लागेको हो ।
मन्त्रालयले ‘राष्ट्रिय हवाई नीति २०८२’ को मस्यौदा तयार पारेको छ । जसमा आयात गरिने जहाजको ‘इकोनोमिक डिजाइन लाइफ’ र ‘प्रेसराइज साइकल’ घटाउने प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्था अनुसार प्रेसराइज्ड वायुयानको हकमा ‘इकोनोमिक डिजाइन लाइफ’ को ५० प्रतिशत पूरा गरेको वा ३५ हजार ‘प्रेसराइज साइकल’ पूरा जहाज किन्न पाइने छैन ।
हालको व्यवस्था अनुसार ‘इकोनोमिक डिजाइन लाइफ’ ७५ प्रतिशत र ४५ हजार प्रेसराइज साइकल पूरा गरेको जहाज आयात गर्न पाइने व्यवस्था छ ।
नयाँ नीतिमा प्रेसराइज्ड वायुयानको हकमा १५ वर्ष पुरानो र नन प्रेसराइज्ड वायुयानका हकमा पनि २० वर्षभन्दा पुराना खरिदमा अनुमति नदिइने विद्यमान व्यवस्था भने यथावत नै राखिएको छ ।
‘प्रेसराइज्ड वायुयानको हकमा १५ (पन्ध्र) वर्ष भन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफ (Economic Design Life) को ५० (पचास) प्रतिशत पूरा गरेको वा ३५००० (पैतीस हजार) प्रेसराइजेशन साइकल पूरा गरेको वायुयानहरूको आयात निषेध गरिनेछ,’ प्रस्तावित नयाँ हवाई नीतिमा भनिएकाे ।
विदेशी लगानी बढाइँदै
नयाँ नीति मस्यौदामा वायुसेवा उद्योगमा विदेशी लगानी सीमा बढाउने प्रस्ताव गरिएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा निदेशी लगानीको सीमा ९० प्रतिशत पुर्याइने भएको छ ।
हाल अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी विदेशी लगानीको सीमा ८० प्रतिशत रहेको छ । आन्तरिक वायुसेवामा भने विदेशी लगानीको सीमा ४९ प्रतिशत यथावत नै राखिएको छ ।

