काठमाडौं । विश्वकै ठूलो लग्जरी कार निर्माता बीएमडब्लू मोटर्सले आफ्नो सफल मोडल आइएक्स-थ्रीको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरिसकेको छ ।
जर्मन लग्जरी ब्राण्डले आफ्नो चर्चित एसयूभीको इलेक्ट्रीक भर्सन धेरै रेन्ज दिने गरि ल्याएको छ । साथै, आधुनिक ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन गर्न लागेको कारण तिब्र गतिमा चार्ज पनि सम्भव हुनेछ ।
बीएमडब्लूले म्युनिख मोटर शो अगाडि प्रदर्शन गरेको नयाँ जेनेरेशन आइएक्स-थ्री अहिले डेडिकेटेड प्लेटफर्म बनेको कारण चर्चामा रहेको हो । यसअघि पेट्रोल भर्सनलाई रोट्रोफिट गरेर बजारमा ल्याइएको थियो ।
अहिले बीएमडब्लूले ल्याएको आइएक्स-थ्रीले पोलास्टर-४, टेस्ला मोडल वाई, मर्सिडिज बेन्च जीएलसी, अउडी क्यू-सिक्स जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । मर्सिडिजको जेन-६ इलेक्ट्रीक पावर ट्रेन प्रयोग भएको नयाँ जेनेरेशन मोडलले ८०० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीको दावी छ ।

यदि, तपाईसँग १० मिनेट मात्रै चार्जिङको लागि समय छ भने पनि ३५० किलोमिटर यात्रा गर्न पुग्ने रेन्ज तपाईले थप्न सक्नुहुनेछ । अहिले बिक्री भइरहेको आईएक्स-थ्रीलाई डिसी चार्जरले १० मिनेट चार्ज गर्दा १०० किलोमिटर रेन्ज थप गर्न सकिन्छ ।
नयाँ जेनेरेशन आईएक्स-थ्री रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभ अप्सनमा २०० किलोवाटभन्दा कम क्षमताको मोटरमा आउने अनुमान गरिएको छ । यसअघिको रियर ह्वील ड्राइभ भर्सनमा २१० किलोवाटको मोटर थियो ।
कम्पनीले नयाँ जेनेरेशन बीएमडब्लू आईएक्स-थ्रीमा आर्टिफिसियल इन्टेलिजेन्टमा आधारित फिचरहरु दिएको छ । एडास फिचर, बीएमडब्लू डाइनामिक पर्फमेन्स कन्ट्रोल दिइएको छ । यसले बीएमएस सिस्टम, ब्रेकिङ, इनर्जी खपत र स्टेरिङ सिस्टमलाई उत्कृष्ट बनाउने छ । कम्पनीका अनुसार अहिलेको बीएमडब्लू आईएक्स-थ्रीभन्दा नयाँ जेनेरेशन मोडल १० गुणा उत्कृष्ट छ ।

कम्पनीको पानारोमिक आईड्राइभ सिस्टम रहने एसयूभीमा पानारोमिक भिजनरुफ, हेडअप डिस्प्ले, क्लिन ड्यासबोर्डको बीचमा इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध हुनेछ ।
कम्पनीले गाडीमा रहने अपग्रेडका बारेमा जानकारी दिएपनि ब्याट्री साइज र मोटर साइजको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा आएको केही महिना भित्रै नयाँ जेनेरेशन बीएमडब्लू आईएक्स-थ्री नेपाल पनि आउने छ । बीएमडब्लूको आधिकारीक बिक्रेता लक्ष्मी प्रिमियमले अहिले बजारमा उपलब्ध आईएक्स-थ्रीको मूल्य २ करोड ६५ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको थियो ।
सन् २०२६ बाट नेपालमा पनि बिक्री सुरु हुने आईएक्स-थ्रीको मूल्य अहिल्यै अनुमान गर्न हतार हुनेछ ।

