वैशाखमा ३३३४ वटा सवारी दुर्घटनामा परे, ६१% मोटरसाइकल

काठमाडौं । वैशाख महिनामा मात्रै झण्डै साढे ३ हजार वटा सवारी साधन सडक दुर्घटनामा परेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखमा देशभर कुल २ हजार २९४ दुर्घटना हुँदा ३ हजार ३३४ सवारी साधन परेका हुन् ।

कुल सवारी दुर्घटनामा झण्डै दुई तिहाई मोटरसाइकल रहेका छन् । वैशाखमा ३ हजार ३३४ सवारी साधन दुर्घटनामा पर्दा मोटरसाइकल मात्रै २ हजार ३६ वटा रहेका छन् । यो कुल दुर्घटनाको ६१.०६ प्रतिशत हो ।

त्यस्तै, वैशाखमा १०१ बस, ४२७ जिप, कार, माइक्रो, १६४ ट्रक, ट्यांकर, ट्रिपर, ९३ ट्रयाक्टर, २८२ ट्याम्पु, २०३ शारीरिक शक्तिबाट चल्ने सवारी, ११ डोजर, लोडर र १७ वटा अन्य सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ ।

सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिन्छ । तीव्र गतिमा सवारी चलाउँदा, मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा, जथाभावी ओभरटेक गर्दा लगायत कारणले सवारी दुर्घटान भएका हुन् ।

वैशाखमा सडक दुर्घटनामा परी २३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५८ पुरुष, ५४ महिला, १७ बालक र १० बालिका रहेका छन् । त्यस्तै, दुर्घटनामा ७५२ जना गम्भीर घाइते र ३ हजार २२० जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।


Back_to_top