गाडी बनाउनेलाई थप सहयोग दिइने, भोलिबाट भृकुटीमण्डपमा ईभी चौतारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा गाडी बनाउने उद्योगलाई आवश्यकता अनुसार सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डमा ईभी एक्स्पो २०२२ को उद्घाटन गर्दै मन्त्री शर्माले पाटपुर्जा ल्याएर जोड्नेभन्दा भ्यालू एडिसनमा लाग्न र चाहिएको सहयोग माग्न आग्रह गरे ।

‘तपाईहरु गाडी उत्पादनमा लाग्नुहोस् । आवस्यक परे अहिले घोषणा भएको सहुलियत बढाउन सकिन्छ । तर, उत्पादन र भ्यालू एडिसन भने हुनुपर्छ’, शमाले भने ।

‘गाडी उत्पादन यहि गर्नुहोस् विद्युत र ब्याजमा थप सहुलियत दिनुपर्छ,’ उनले भने,‘एसेम्बल उद्योगमा भ्यालु एड कसरी गर्न सकिन्छ, त्यसमा ध्यान दिनुस् ।’

नेपालको इतिहासमै पहिलो पटक भएको नाडा ईभी एक्स्पोमा आफ्नो भनाई राख्दै नाडा अध्यक्ष ध्रुव थापाले भने,‘नेपालमा पहिलो पटक हुन गएको ईभी शो भृकुटीमण्डपमा शुरुवात भएको छ । यसले नेपालमा विद्युतीय सवारी साधनको अपरिहार्यतालाई प्रस्ट पारेको छ ।’

जनस्तरमा नै विद्युतीय सावरीसाधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने र पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले विद्युतीय साधनमा क्रेज बढ्दो रहेको धारणा राखे ।

सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताई रहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको अध्यक्ष थापाको भनाई थियो ।

सरकारले नेपालमै गाडी एसम्बल गर्न आग्रह गरेपनि त्यसकोलागि स्थिर नीति आवश्यक रहेको नाडाले जनाएको छ । अध्यक्ष थापाले सरकारले स्थितर नीति लिए व्यवसायी पार्टपुर्जाको उद्योग समेत खोल्न तयार रहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । मन्त्री शर्माले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने बताएका छन् ।

‘विद्युतीय गाडीलाई प्रवद्र्धन गर्दै आएका छौं । त्यसबाट पछि हट्दैनौं,’ मन्त्री शर्माले भने,‘अब कोईला, डिजेल, पेट्रोलको युग सकियो अब ईभी र हाइड्रोजनतर्फ गइरहेका छौं ।’

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको सहुलियतका कारण ३०-३५ लाखमै गाडी पाउने अवस्था रहेको बताए ।
अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने बताउँदै अन्तःशुल्क र भन्सार महशुल बढाउन नहुने धारणा राखे । वातावरण संरक्षण गर्नको लागिपनि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नु पर्ने उनको धारण थियो ।

कार्यक्रममा नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिनादेख अटो व्यवसायी मारमा परहेको जानकारी गराए । कार, जीप, भ्यान र १५० सीसीमाथिका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसँग माग गरेका थिए । अर्थमन्त्री शर्माले सवारी प्रतिबन्ध लामो समय नरहने बताए । उनले अर्थतन्त्र शुधारतर्फ गैरहेको बताउँदै निर्यात वृद्धि गरि आयात खोल्नु पर्ने उल्लेख गरे ।

यस्तो छ अटो शोको इतिहास र सहभागी ब्राण्ड

नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ । ईभी एक्स्पो भने पहिलो पटक हुन लागेको हो । ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ईभी शोमा ९ वटा ४ पाङ्ग्रे र १ वटा ३ पाङग्रे रहेका छन् । १६ वटा २ पाङ्ग्रे सवारीका स्टल रहेका छन् ।

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेका छन् । अग्नी ग्रुपले ३ पाङ्ग्रे टेरो ब्रान्ड राखेको छ ।

दुईपांग्रे ब्रान्डमा लेभ्निङ, एनआईयु, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रीक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ ।

सिएट द्वारा प्रायोजित एक्स्पोमा साधन, पार्टपूर्जा, वित्तिय सेवा प्रदायकको स्टल उपलब्ध छन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको हो ।

भोलिबाट ईभी चौतारी

नाडाले विद्युतीय गाडीको एक्स्पो मात्रै नभई विद्युतीय गाडीको जानकारी दिन ३ दिनने ईभी चौतारी कार्यशाला गोष्ठी आयोजना गर्दैछ । शुक्रबारको गोष्ठीमा प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुँदैछ ।

जसमा वन तथा वातावरण सचिव प्रेम नारायण कडेल सभापति रहने छन् भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धानकर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सिईओ अभिशेक कार्की, सिप्रद्धिका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन् ।

युएसएड क्लिन एयरको सहयोगमा भैरहेको ईभी चौतारीमा भुषण तुलाधरले मोडरेट गर्ने छन् ।


Back_to_top