हाइब्रिडको नयाँ गन्तव्य बन्दै भारत, यी ब्राण्डले ल्याउँदैछन् नयाँ मोडल

काठमाडौं । विश्व अटोमोबाइल बजारमा इलेक्ट्रीक भेहिकलको जति धेरै चर्चा छ बिक्रीमा भने हाइब्रिड पावरट्रेन अगाडि देखिन्छ । पछिल्लो समय टेस्ला बाहेक सबै न्यू इनर्जी भेहिकल कम्पनीहरु हाइब्रिड गाडी बजारमा ल्याउन केन्द्रीत भएका छन् ।

टोयोटा, होण्डा जस्ता जापानी अटोमोबाइल कम्पनीहरू पहिलादेखि नै ब्याट्री इलेक्ट्रीकभन्दा हाइब्रिडमा विश्वास गर्थे । नेपाली बजारमा जापानमा बनेका टोयोटा, होण्डा र मित्सुबिशी तथा जर्मन ब्राण्ड बीएमडब्लूका केही महँगा मोडल हाइब्रिडमा बिक्री हुँदै आएका छन् ।

विश्वव्यापी बढ्दो न्यू इनर्जी भेहिकलको बिक्रीमा भारत पनि अछुतो छैन । त्यसैले भारतमा सुजुकी, टोयोटा जस्ता ब्राण्डले हाइब्रिड टेक्नोलोजीमा आफूलाई फोकस गरेका छन् ।

मारुती सुजुकीले स्मार्ट र स्ट्रङ हाइब्रिड गाडी ग्राण्ड भिटारा र ब्रेजा जस्ता मोडल बिक्री गर्न थालेको केही वर्ष भयो । कम्पनीले निकट भविष्यमा कम मूल्यमा धेरै मानिसले किन्न सक्ने कारहरू समेत हाइब्रिडमा ल्याउने योजना अघि बढाएका छन् ।

विश्वमा हाइब्रिड पावरट्रेनको बढ्दो मागसँगै भारतीय अटो उत्पादकहरू समेत हाइब्रिड मोडल लन्च गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । भारतीय बजारमा आगामी दिनमा १० भन्दा बढी हाइब्रिड मोडलहरूको लाइनअप तयार हुन लागेको देखिन्छ । यसमा महिन्द्रा, हुन्डाई, किया, रेनो र निसान जस्ता कम्पनीहरूले नयाँ हाइब्रिड लन्च गर्ने भएका हुन् ।

महिन्द्राले ब्याट्री इलेक्ट्रीक भेहिकललाई हाइब्रिड अप्सनमा लन्च गर्ने योजना बनाएको छ । कम्पनीले एक्सयूभी थ्रीएक्सओलाई सिरिज प्यारलल हाइब्रिड तथा बीई-६ र एक्सईभी-९ई लाई रेन्ज एक्सटेन्डर हाइब्रिड इन्जिनमा ल्याउने भएको हो ।

त्यस्तै, हुन्डाईले नेक्स्ट जेनेरेशन क्रेटा, नयाँ ७ सिटे एसयूभी तथा प्यालिसेड एसयूभी हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । हुन्डाईले क्रेटा र अल्काजार जस्ता कम्प्याक्ट एसयूभीमा स्ट्रङ हाइब्रिड र ठूला एसयूभीमा प्लगइन हाइब्रिड दिने सम्भावना छ ।

अर्को, कोरियन ब्राण्ड कियाले पनि नेक्स्ट जेनेरेशन सेल्टोस हाइब्रिड पावरट्रेनमा ल्याउने भएको छ । सिस्टर कम्पनी हुन्डाईले जस्तै कियाले सेल्टोसमा स्ट्रङ हाइब्रिड पावरट्रेन दिने चर्चा चलिरहेको छ । कियाले भारतीय बजारमा अर्को ७ सिटे एसयूभी समेत लन्च गर्ने योजना बनाएको छ । एमक्यू४ आई कोडनेम दिएको यो एसयूभी पनि हाइब्रिड हुनेछ ।

फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले लन्च गर्न लागेको थर्ड जेनेरेशन डस्टरमा पनि स्ट्रङ हाइब्रिड सिस्टम हुनेछ । सीएमएफ बी प्लेटफर्ममा बनेको रेनोको नयाँ डस्टरमा १.६ लिटर पेट्रोल इन्जिनको साथमा स्ट्रङ हाइब्रिड सिस्टम रहनेछ । यसको हाइब्रिड सिस्टमलाई पावर दिन १.२ किलोवाट अवारको ब्याट्रीप्याक रहनेछ ।

रेनोको पार्टनर कम्पनी निसानले पनि आफ्नो नयाँ लन्च हुने ५ र ७ सिटे एसयूभीमा स्ट्रङ हाइब्रिड सिस्टम दिने बताएको छ ।


Back_to_top