काठमाडौं । अब हिट एण्ड रन (दुर्घटनापछि सवारी साधनको पहिचान हुन नसके)मा पीडितलाई सरकारी कोषबाट क्षतिपूर्ति दिने व्यवस्था गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सडक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्तावित विधेयक अनुसार अब सडक दुर्घटना भई सवारी साधनको पहिचान हुन नसकी पीडितले कुनै कारणवस क्षतिपूर्ति पाउन नसके राष्ट्रिय सडक सुरक्षा परिषद्को कोषबाट क्षतिपूर्ति गराइने व्यवस्था गरिएको छ । परिषद्को कोषबाट क्षतिपूर्ति दिलाउन नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी बीमा सम्बन्धी आवश्यक कार्यविधि लागू गरिने मस्यौदमा उल्लेख छ ।
‘सडक दुर्घटना पश्चात सवारी साधन पहिचान हुन नसकेको (हिट एण्ड रन) अवस्था वा कुनै कारणवस सडक दुर्घटनाबाट क्षतिपूर्ति प्राप्त गर्न नसकेका पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन परिषद्ले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी बीमा सम्बन्धी आवश्यक कार्यविधि लागू गर्न गराउन सक्नेछ,’ प्रस्तावित विधेयकमा भनिएको छ ।
हाल ‘हिट एण्ड रन’ प्रकृतिका दुर्घटना पीडितले क्षतिपूर्ति नै पाउन नसक्ने अवस्दा पीडित झन् पीडित बन्नुपर्ने अवस्था छ । त्यसैलाई मध्ये नजर गर्दै सरकारले दुर्घटना गराउने सवारी पहचिान हुन नसके पनि सरकारी कोषबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गर्न लागेको हो ।
त्यस्तै, सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गराई राखेका सवारी साधनको कारणले दुर्घटना भई हानी नोक्सानी भएमा सवारीधनी तथा चालकबाट क्षतिपूर्ति असुल गरिने छ । यसका लागि परिषद्ले कार्यविधि बनाई लागू गर्नेछ ।
त्यसैगरी, सडकको सवारी गुड्ने भाग वा सडकपेटीमा अनाधिकृत रूपमा मालसामान राखेका कारणले वा अन्य क्रियाकलापहरूका कारणले दुर्घटना भई हानी नोक्सानी भएमा सम्बन्धित व्यक्ति वा संस्थाबाट क्षतिपूर्तिको असुल गरिने व्यवस्था गरिएको छ ।
सरकारले सडक यातायातसँग सरोकार राख्ने पक्षहरूका बीचमा समन्वय तथा नियमन गरी सडक सुरक्षालाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र मार्गदर्शन गर्न गराउने राष्ट्रिय सकड सुरक्षा परिषद् स्थापन गर्ने प्रस्ताव गरेको छ ।


