सुरक्षाको हिसाबले उत्कृष्ट ५ भारतीय कार

काठमाडौं । कुनै समय थियो, गाडीको सुरक्षाभन्दा बढी माइलेजको विज्ञापन हुन्थ्यो । समय फेरिएको छ, अब माइलेज होइन सुरक्षा रेटिङले निकै महत्व राख्छ । भारतमा गाडी बनाउने अन्य देशका ब्राण्ड र भारतीय ब्राण्डले नै उत्पादन गर्ने कारमा पनि सुरक्षाको विषयमा कडा प्रतिस्पर्धा सुरू भएको छ ।

भारतीय कार निर्माता टाटा र महिन्द्राले उत्कृष्ट रेटिङ पाएका कार ल्याएर भारतीय अटोबाजरको आगामी बाटो तय गरेको देखिन्छ । टाटा नेक्सन, अल्ट्रोज, पन्च जस्ता मोडल उत्कृष्ट रेटिङ पाउन सफल कार हुन् । त्यसैगरी महिन्द्रा एक्सयूभी ३०० र एक्सयूभी ७०० उत्कृष्ट रेटिङ पाउन सफल भएका छन् ।

महिन्द्रा र टाटाका अलावा अन्य कम्पनीले भारतमा बनाएका कम मूल्यका गाडीले ग्लोबल एनक्यापमा हुने क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सकेका छैनन् ।

५.टाटा नेक्सन : टाटाले सन् २०१७ देखि भारतमा उत्पादन गर्दै आएको नेक्सन ५ ग्लोबल एनक्यापमा स्टार पाउन सफल पहिलो भारतीय उत्पादकको मोडल हो । नेक्सनले ग्लोबल एनक्याप क्र्यास टेष्टमा एडल्ट प्यासेन्जरका लागि ५ स्टार र बच्चाको सुरक्षाका लागि ३ स्टार रेटिङ पाएको छ ।

नेक्सनले एडल्ट सेफ्टीको पूर्णाङ्क १७ मा १६.०६ र चाइल्ड सेफ्टीमा ४९ मा २५ अंक पाएको छ । यो स्कोरसँगै नेक्सन ५ औं सुरक्षीत कार हो । सिप्रदी ट्रेडिङले नेक्सन २०१८ देखि नेपाली बजारमा विक्री गर्दै आएको छ ।

४. टाटा अल्ट्रोज : टाटाको प्रिमियम ह्याचब्याक कार अल्ट्रोजले पनि एडल्ट प्यासेन्जर सुरक्षामा ५ स्टार र चाइल्ड सुरक्षामा ३ स्टार रेटिङ पाएको छ । अल्ट्रोज प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध सर्वाधिक सुरक्षा रेटिङ पाउन सफल मोडल हो । यो सेग्मेन्टमा मारुती सुजुकी बलेनोले ४ स्टार र हुन्डाई आई २० ले ३ स्टार रेटिङ पाएका छन् ।

अल्ट्रोलले क्र्यास टेष्टमा एडल्टको १७ अंक मध्ये १६.१३ र चाइल्डको ४९ मध्ये २९ अंक प्राप्त गरेको हो । अल्ट्रोज पनि सिप्रदीले विगत ढेड वर्षदेखि नेपालमा विक्री हुँदै आएको छ ।

३. महिन्द्रा एक्सयूभी ३०० : टाटा नेक्सनपछि ५ स्टार रेटिङ पाउने एक्सयूभी ३०० दोस्रो भारतीय ब्राण्डले उत्पादन गरेको एसयूभी हो । महिन्द्रा नेपालमा सफल ब्राण्ड हो । महिन्द्राको आधिकारिक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले सन् २०२० मा नै एक्सयूभी ३०० को विक्री सुरू गरेको हो ।

नेपालमा सोचेजस्तो सफलता नपाए पनि एक्सयूभी ३०० सेग्मेन्टकै सर्वाधिक सुरक्षीत एसयूभी हो । यसले एडल्ट सुरक्षामा १७ मध्ये १६.४२ अंक र चाइल्ड सुरक्षामा ४९ मा ३७.४४ अंक प्राप्त गरेको थियो । यही आधारमा यसलाई एडल्ट सुरक्षामा ५ स्टार र चाइल्ड सुरक्षामा ४ स्टार रेटिङ दिइएको थियो ।

२. टाटा पन्च : ग्लोबल एनक्यापले गरेको परीक्षणमा टाटा पन्च सर्वाधिक सुरक्षीत भारतीय कारको सूचीमा दोस्रो स्थानमा रहेको छ । यसले एडल्ट सुरक्षामा ५ स्टार र चाइल्ड सुरक्षामा ४ स्टार रेटिङ पाएको छ ।

एडल्ट सुरक्षामा १७ मा १६.४५ र चाइल्ड सुरक्षामा ९४ मा ४०.८९ अंक प्राप्त गरेको थियो । सिप्रदी ट्रेडिङले अर्को महिनासम्ममा यसलाई नेपाली बजारमा उतार्ने तयारी गरिरहेको छ । यो सबैभन्दा सानो साइजको सर्वाधिक सफल कार पनि हो ।

१. महिन्द्रा एक्सयूभी ७०० :  महिन्द्राको मिडसाइज एसयूभी एक्सयूभी ७०० भारतीय उत्पादकले बनाएको सर्वाधिक सुरक्षीत कार हो । कम्पनीले ५ महिना अघिबाट भारतमा विक्री सुरू गरेको यो एसयूभी अहिले निकै चर्चामा रहेको र सफलता चुमिरहेको गाडी हो । यसले ग्लोबल एनक्याप क्र्यास टेष्टमा एडल्ट सेफ्टीमा ५ स्टार र चाइल्ड सेफ्टीमा ४ स्टार रेटिङ पाएको छ ।

यसलाई एडल्ट रेटिङको पूर्णाङ्क १७ मा १६.०३ र चाइल्ड सेफ्टीको ४९ मा ४१.६६ अंक प्रदान गरिएको थियो । अग्नी इनकर्पोरेटले चाँडै नै यसलाई बजारमा ल्याउने तयारी गरिरहेको छ ।


Back_to_top