काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको १ अर्ब डलर लगानीको प्रस्ताव भारत सरकारले अस्विकार गरेको छ । बीवाइडीले भारतमै विद्युतीय कार बनाउन १ अर्ब डलर लगानी प्रस्ताव गरेको थियो ।
चिनियाँ कम्पनीले भारतको हैदरावादमा रहेको मेगा इन्जिनियरिङ एण्ड इन्फ्राष्ट्रक्चर लिमिटेडसँग संयुक्त लगानीमा बीवाइडीका गाडी उत्पादन गर्न प्रस्ताव गरेको थियो ।
इकोनोमिक्स टाइम्सका अनुसार सुरक्षालाई मध्येनजर गर्दै चिनियाँ कम्पनीको लगानी अस्विकार गर्ने निर्णय भएको हो । मिडिया रिपोर्टमा उद्योग मन्त्रालयका एक अधिकारीलाईको भनाई उल्लेख भएपनि नाम भने उल्लेख छैन ।
यी दुई कम्पनीको प्रस्ताव अहिले वार्षिक १० हजारदेखि १५ हजार यूनिट विद्युतीय कार उत्पादन गर्ने थियो । बजारमा विद्युतीय कारको माग बढ्दैजाँदा निकट भविष्यमा उत्पादन क्षमता वृद्धि गर्दै जाने योजना प्रस्तुत गरिएको थियो ।
बढ्दो बजार मागलाई सम्बोधन गर्न बीवाइडी र मेगा इन्जिनियरिङले काम गर्ने योजना बनाएका थिए । त्यसमा सम्पूर्ण सपोर्ट बीवाइडीको रहने उल्लेख गरेको थियो । तर, भारत सरकारले यी दुई कम्पनीको लगानी प्रस्ताव अविस्कार गरेको दावी इकोनोमिक्स टाइम्सले गरेको हो ।
यसअघि पनि भारत सरकारले ग्रेटवाल मोटर्सको लगानी प्रस्ताव अस्विकार गरेको थियो । भारत सरकारले एकपछि अर्को चिनियाँ लगानी अस्विकार गरिरहेको समयमा एसएआईसी ग्रुपको लगानीमा रहेको एमजीले पनि भारतमा स्थानिय लगानीकर्ता खोजिरहेको छ ।
एमजीको पनि लगानी विस्तार योजनालाई भारत सरकारले सहजै स्विकार गर्ने अवस्था देखेर नै उसले स्थानिय लगानीकर्ता खोजिरहेको हो ।


