काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट झण्डै २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरण अनुसार भदौ ३१ गतेसम्म १८ निर्जीवन बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरकाे बीमा दाबी परेको हो ।
१८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । यद्यपि, प्राधिकरणले कुन शिर्षकमा कति बीमा दाबी पर्यो भन्ने खुलाएको छैन ।
आन्दोलनका क्रममा सयौं संख्यामा सार्वजनिक तथा निजी भवन र हजारौं सवारी साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।
प्राधिकरणका अनुसार भदौ ३१ सम्म सबैभन्दा धेरै बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
त्यस्तै, सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोड, शिखरमा २ अर्ब ३९ करोड, आइजीआइ प्रुडेन्सियलमा १ अर्ब ५९ करोड, सगरमाथा लुम्बिनीमा १ अर्ब ४५ करोड, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड र नेकोमा १ अर्ब ९ करोड रुपैयाँ बीमा दाबी परेको छ ।
११ वटा कम्पनीमा भने १ अर्ब रुपैयाँभन्दा बढी दाबी परेको छ । जसमा ट्रष्ट माइक्रो इन्स्यारेन्समा सबैभन्दा कम ४२ लाख रुपैयाँ दाबी परेको छ ।
अझै दाबी पर्ने क्रम जारी रहेकाले दाबी रकम बढ्न सक्ने प्राधिकरण जनाएको छ ।


