‘पावर गेम’मा अब्बल बन्दै आयोनीक-५

काठमाडौं । विद्युतीय साधनहरु पावरको मामलामा निकै अब्बल देखिन्छन् । विशेषगरी स्पोर्टस् कार निर्माताहरुले ईभीलाई निकै पावरफुल बनाउँदै आएका छन् । यो दौडमा हुन्डाईले आफ्नो सफल क्रसओभर आयोनीक-५ को पर्फमेन्स मोडल (एन) बजारमा ल्याएको छ ।

नेपालमा इलेक्ट्रीक मोटर पावरले प्रदान गर्ने पीकपावरमा आधारित रहेर कर निर्धारण भएको कारण यस्ता गाडी निकै महंगो पर्छन् । हुन्डाई ‘आयोनीक-५ एन’ मोडलमा अगाडि १६६ किलोवाट (२२२ पीएस) र पछाडि २८२ किलोवाट (३७८ पीएस) क्षमताको मोटर दिइएको छ । दुबै मोटरको संयुक्त पावर ४४८ किलोवाट अर्थात् ६०१ पीएस हो । यसमा बुस्ट मोड पनि दिइएको छ । यसको प्रयोग गर्दा पावर बढेर ६४१ पीएससम्म पुग्छ ।

निकै पावरफुल मोटर भएको कारण आयोनीक-५ एनले सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ३.४ सेकेन्डमा भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता पनि २६० किलोमिटर प्रतिघन्टा रहेको छ । हुन्डाईले यसमा ८४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।

हुन्डाई आयोनीक-५ यूरोप, अमेरिका र एशियाली बजारमा निकै राम्रो बिक्री पाइरहेको छ । सन् २०२२ र २०२३ मा विश्वका धेरै अवार्ड आफ्नो नाममा लेखाउन सफल आयोनीक-५ को इन्ट्री मोडल नेपालमा पनि बिक्री हुँदै आएको छ ।

नेपाली बजारमा १२५ किलोवाट पीकपावर भएको मोटर र ५८ किलोवाट आवर क्षमताको ब्याट्रीमा आयोनीक-५ उपलब्ध रहेको छ । यो गाडीले सिंगल चार्जमा ३५० किलोमिटर माथि रेन्ज प्रदान गर्छ ।

विद्युतीय गाडीमा जतिसुकै पावरको कुरा गरेपनि नेपाल सरकारको करका कारण पावरफुल गाडीहरु नेपाली बजारमा आउने अवस्था छैन ।


Back_to_top