अटो एक्स्पो २०२३ : ६०० किलोमिटर बढी रेन्ज दिने आयोनिक-६ अनावरण

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले इलेक्ट्रीक सेडान आयोनिक-६को अनावरण गरेको छ । भारतको ग्रेटर नोयडामा बुधबारदेखि सुरू भएको अटो एक्स्पोमा कम्पनीले उक्त कार देखाएको हो।

आयोनिक-६ हुन्डाईको विश्वव्यापी रूपमा ३१ भन्दा बढी जीरो इमिसन ईभी सार्वजनिक गर्ने योजनाको एक हिस्सा रहेको छ । यसलाई विश्वभर अधिकांशले रुचाएको पाइन्छ ।

ई–जीएमपी प्लेटफर्ममा आधारित रहेर निर्माण गरिएको आयोनिक-६ दुई ब्याट्री अप्सनका साथ उपलब्ध रहेको छ । कम्पनीले यसमा रहेको बेस भेरियन्टमा ५३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्रीको साथमा २१८ पीएसको इलेक्ट्रिक मोटर दिएको छ भने टप भेरियन्टमा ७७.४ किलोवाट ब्याट्री प्याक उपलब्ध गराएको छ ।

आयोनिक-६को ठूलो ब्याट्री प्याकको अपग्रेडले सिंगल चार्जमा ६१० किलोमिटरभन्दा बढी ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । यसमा आयोनिक ५ को तुलनामा ० देखि १०० किलोमिटर प्रतिघण्टाको एक्सेलेरेशन टाइम कम रहन्छ । जुन भारतमा सोही एक्स्पोमा ४४ लाख ९५ हजार भारतीय रुपैयाँ निर्धारण गरी लन्च गरिएको छ ।

आयोनिक-६मा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभको विकल्प पनि दिएको छ। यसमा रहने डुअल इलेक्ट्रीक मोटर सेटअपले ३२५ पीएस पावर र ६०५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । यो प्रिमियम ईभीलाई ३५० किलोवाटको डीसी फास्ट चार्जरको प्रयोग गरी १८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एरोडायनामिक डिजाइन र स्पोर्टी लुक्स भएको आयोनिक-६मा एक्टिभ एयर फ्ल्याप्स, ह्वील ग्याप रिड्युसर, फुल अन्डरबडी कभर, डिफ्लेक्टरर देख्न सकिन्छ। आयोनिक-५ जस्तै यसमा पनि डुअल १२.३ इन्चको स्क्रीनको साथमा मोड्युलर इन्टेरियर, एम्बियन्ट लाइटिङ जस्ता विशेषताहरू रहेका छन् ।

त्यस्तै, इलेक्ट्रीक सेडानको अन्य फिचर हाइलाइट्समा भेहिकल टू लोड, फ्लोटिङ डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीसहितको १२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एडभान्सड्राइभर असिस्टिभ सिस्टम, चार्जिङ टेक्नोलोजी लगायत सुविधा पाउन सकिन्छ ।

कम्पनीले आयोनिक-६सँगै एक्स्पोमा सार्वजनिक गरेको आयोनिक-५ को डेलिभरी चाँडै नै स्थानीय स्तरमा सुरु हुने जनाएको छ ।


Back_to_top