भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको बेलायती विलाशी कार उत्पादक कम्पनी जगुअर ल्याण्ड रोभर (जेएलआर)ले भारतमै उत्पादन सुरु गर्ने भएको छ । भारतको पुने प्लान्टबाट जगुअरको इन्जिन तथा एसेम्बलिङको काम हुने कम्पनीले वताएको छ ।
कम्पनीले गरेको लगानी र भारतमै उत्पादन थाल्नुको कारण भारतमा भएको विलाशी कारको बजारमा आफ्नो उपस्थिति बलियो बनाउनु रहेको छ । गत वर्ष भारतीय बजारमा जगुअरले सवारी बिक्रीमा दोहोरो अंकको वृद्धि हासिल गरेको थियो । यसले पनि कम्पनीलाई भारतमै उत्पादन थाल्न प्रेरित गरेको हो ।
जगुअरका गाडीको मूल्यमा आएको कमीले यसको बजार विस्तार भएको बताइएको छ । कम्पनीले गरेको यो लगानीका कारण भारतमा धेरै बजार बनाउन सफल विलाशी कार कम्पनी मर्सिडिज बेन्ज, बीएमडब्लू, अडीका गाडीसँग जगुअरका कारले प्रतिस्पर्धा गर्न सक्ने छ । भारतमै उत्पादन गर्दा जगुअरका गाडी केही सस्तो हुने अनुमान गरिएको छ ।
कम्पनीले भारतमै इन्जिन उत्पादन गर्ने बताएको भएपनि उक्त परियोजनामा कति लगानी गर्ने र कहिले देखि इन्जिन उत्पादन गर्ने कुरा भने खुलाएको छैन । भारतमा आयात हुने विलाशी कारमा भन्सार दर केही वृद्धि गरिएको थियो बजेट मार्फत । स्थानिए एसेम्बलिङका आधारमा १७, ३३, वा ७०–११० प्रतिशत आयात कर लाग्ने गरेको छ । सबैभन्दा धेरै भन्सार दर पूर्ण निर्माति कार आयातमा लाग्ने गरेको छ । जेएलआरले भारतको पुने मै इन्जिन उत्पादनको घोषणा गरेकाले उसको कारको मूल्य घट्ने अनुमान गरिएको हो । यसले कम्पनीको खर्च २० देखि २५ प्रतिशत कटौति हुने छ । जगुअरले भारतीय बजारका लागि इन्जिको सिरिज बनाउने छ । जगुअरले पहिलो चरणमा २ लिटर डिजेल इन्जिन बनाउने छ । जुस यस अघिका कारमा समेत प्रयोग भइसकेको छ ।
भारतीय बजारमा जगुअरको विजनेस उत्साहजनक रुपमा वृद्धि भइरहेको जेएलआरका सीइओ राल्फ स्पाथले बताए । जेएलआरका सबै परियोजना भारीय बजारमा सफल भएको उनको भनाइ छ ।
भारतीय बजारमा गत वर्ष ४० हजार विलाशी कार बिक्री भएको थियो । जुन हाल सम्मकै उच्च हो । आर्थिक वर्ष २०१७÷१८ मा जेएलआर इन्डियाले ४ हजार ६ सय ९ वटा कार बिक्री गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले धेरै हो । यसरी वृद्धि भइरहेको बजारलाई आफ्नो पक्षमा लिन कम्पनीले भारतमै उत्पादन सुरु गर्ने घोषणा गरेको हो ।