हिरो गुमाएको ज्योति ग्रुपले ल्यायो ‘जोङसेन’

काठमाडौं । भारतीय ब्राण्ड हिरो गुमाएको ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मोटर्सले चिनियाँ ब्राण्ड जोङसेनका दुई पाङ्ग्रे साधन ल्याएको छ ।

भारतीय मोटरसाइकल हिरो बिक्री गर्दै आएको कम्पनीले लामो विवाद पश्चात् उक्त ब्राण्ड गुमाएको थियो । चिनियाँ ब्रान्ड जोङसेन, साइक्लोन र भारतीय इलेक्ट्रीक स्कुटर ‘इलेक्ट्रीक वान’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

साइक्लोन जोङसेनकै सव ब्रान्ड हो । जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ । चिनियाँ टप ५ उत्पादक मध्ये एक रहेको कम्पनी हो ।

नेपाल जनरल मार्केटिङले कान्तिपथमा जोङसेन र इलेक्ट्रीक वानको शोरुम निर्माणको काम सम्पन्न गरेको छ । कम्पनीले अबको केही दिन भित्रमा नै नयाँ मोटरसाइकल र स्कुटरको बिक्री सुरू गर्ने भएको छ ।

कम्पनीले जोङसेन/साइक्लोन ब्रान्ड अन्तर्गत एड्भेन्चर मोडल तथा क्रुजर मोटरसाइकल ल्याउने अनुमान गरिएको छ । जोङसेनले चिनियाँ बजारमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल समेत उत्पादन गर्दै आएको छ ।

निकट भविष्यमा कम्पनीले जोङसनका ईभीसमेत ल्याउने तयारीमा कम्पनी रहेको अनुमान गर्न सकिन्छ । हाललाई कम्पनीले भारतमा उत्पादन भएको इलेक्ट्रीक स्कुटर ई–१ सार्वजनिक गर्ने तयारी गरेको हो ।

नेपाल जनरल मार्केटिङले जेठ महिनाको अन्त्यसम्ममा मोटरसाइकल तथा स्कुटरको बिक्री सुरू गर्ने तयारी भइरहेको कम्पनी श्रोतले जानकारी दियो ।


Back_to_top