दुई फरक कम्पनीले बिक्री गर्ने एउटै एसयूभीमा मूल्य ३ हजार फरक

काठमाडौं । केई अटोमोवाइलको एक्स-थ्री प्रो मोडलको मूल्य जिओ अटोमोवाइलले पनि प्रकाशित गरेको छ । जिओले आज मूल्य सार्वजनिक गर्दै एक्स-थ्री डिलक्स र फ्यागसिप गरी दुई भेरियन्ट आउने जानकारी दिएको हो ।

‘हामीले मूल्य सार्वजनिक गरेका छौं । डिलक्स एक्स-थ्री प्रोको मूल्य ४६ लाख ९९ हजार र फ्यागसिप भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सेग्मेन्टमै राम्रो मूल्य अफर गर्ने हाम्रो प्रयास हो’, जिओ अटोमोवाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने ।

आजै लक्ष्मी ई-मोविलीटीले पनि केई एक्स-थ्री प्रो मोडलको मूल्य सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ । कम्पनीले आफ्नो शोरुम पनि नक्सालमा आजैबाट संचालनमा ल्याएको छ । लक्ष्मीले भने जिओको तुलनामा ३ हजार रुपैयाँ कम मूल्य राखेर बुकिङ सुरु गरेको छ । यसले डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार तोकेको हो ।

दुबै कम्पनीले ल्याउने केई एक्स-थ्री प्रो सेग्मेन्टमै सबैभन्दा पावरफुल मोटरमा उपलब्ध हुनेछ । अहिले यहि सेग्मेन्ट र योभन्दा ठूला गाडी ९९ किलोवाट क्षमताको पीकपावर भएको मोटरमा उपलब्ध छ । तर, नेपाल आएको एक्स-थ्री प्रोमा १२० किलोवाटको मोटर पाउन सकिन्छ ।

यसमा ५३.६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री छ । यसलाई फुल चार्ज गर्दा ३७० किलोमिटरसम्म चलाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । यसले १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ । डिसी फास्ट चार्जरको प्रयोग गर्दा यसलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


Back_to_top