युविन (चीन) । केई ब्राण्ड सन् २०२४ मा नेपाल प्रवेश गरेको थियो । सुरूमै एक्स थ्री प्रो एसयूभी र इक्यूट ह्याचब्याक मोडलसहित बजारमा आएको केई कस्तो किसिमको ब्राण्ड हो भन्ने जिज्ञासा धेरैले सुनाउँथे ।
हामीले पनि काठमाडौंबाट ५ हजार किलोमिटर टाढा सिचुआन राज्यको युविन सहरमा रहेको प्लाण्ट देखेका थिएनौं । कम्पनीको प्लाण्ट घुमेपछि र योजना सुनेपछि केही लेख्ने निधो गरियो ।
चेरी अटोमोबाइल ग्रुप र त्यहाँको ‘लिकर’ व्यवसायको लिडर ‘विलिङ्गे’ समेतले लगानी गरेको केई बलियो ब्राण्ड देखियो । सरकारी लगानी भएको कारण पनि आर्थिक रूपमा केई ढुक्क देखिन्छ ।
युविन सहरमा आधुनिक र सुविधा सम्पन्न प्लाण्ट चलाइरहेको केईले चेरीका केही कार पनि उक्त प्लाण्टबाट उत्पादन गर्दै आएको रहेछ । जिरो कार्बन उत्सर्जन गर्नेगरी बनाएको प्लाण्टको कुल एरिया ६ लाख ४८ हजार ६६६ मिटर स्क्वायर छ । जहाँ गाडी उत्पादनको लागि चाहिने सबै सुविधा विकास गरिएको देखिन्छ ।
कम्पनीका अनुसार १० अर्ब युआन (सीएनवाई) मा तयार परिएको उक्त उत्पादन लाइनअप सेमी अटोमेसन रहेको छ । अहिले वार्षिक १ लाख ५० हजार युनिट कार उत्पादन हुँदै आएको छ । प्लाण्टको वार्षिक उत्पादन क्षमता भने विस्तार गर्दै ३ लाख युनिट पुर्याउन लागिएको रहेछ ।

नयाँ प्लाण्टमा ३ हजार ८०० कर्मचारीले काम गरिरहेका छन् । कम्पनीले प्लाण्ट एरियालाई पनि मिलाएर छुट्टाएको देख्न सकिन्थ्यो । जहाँ वर्कशप एरिया १५ हजार ८४० स्क्वायर मिटर, पाटर््स वायर हाउस १० हजार ८० स्क्वायर मिटर, एक्जुलरी बिल्डिङ १ हजार ५३६ मिटर स्क्वायर क्षेत्रफलमा रहेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार टेस्ट सेन्टर १.५ किलोमिटर लामो बनाइएको छ । जहाँ गाडीमा गर्नु पर्ने सबै किसिमका टेस्टहरू गर्न सकिन्छ । ‘एक्सपेरियन्स सेन्टर’ नामबाट चिनिने उक्त क्षेत्रमा पानीमा डुबाएर गरिने परीक्षण पनि हुने गर्छ ।
प्लाण्टमा प्रयोग भएका सबै किसिमका इक्यूपमेन्ट नयाँ छन् । पार्ट्स पनि धेरै कुरा आफैँ उत्पादन गर्ने भएको कारण केई बलियो ब्राण्ड देखियो । यसको रिसर्च एण्ड डेभलपमेन्ट टीमले बनाएको इक्यूट-०४ लाई चेरीले पनि आफ्नो लोगोमा बिक्री थालेको कारण यसको गुणस्तरमा शंका गर्ने स्थान छैन भन्ने लाग्छ ।
युविन केई अटोमोबाइल कम्पनी लिमिटेडका महाप्रबन्धक गाओ लीका अनुसार अन्तर्राष्ट्रिय बजारमा भर्खर प्रवेश गरेको कम्पनी अहिलेसम्म १५ देशमा बिक्री थालिसकेको छ । कम्पनीले गाडी बिक्रीलाई मात्रै प्राथमिकतामा नराखेको र बिक्रीपछिको सेवामा आफ्ना सबै देशमा रहेका व्यवसायिक साझेदारलाई सहयोग गर्ने लीको भनाइ छ । ‘हामी गाडीमात्रै बिक्री गर्दैनौं । बिक्रीपछिको सेवाको लागि पनि प्रतिवद्ध छौं’, लीले भने ।
नेपालमा थप बलियो बन्ने रणनीति
केईले नेपालमा दुई फरक बिक्रेता नियुक्त गरेर गाडी बिक्री गर्दै आएको छ । केई ब्राण्डका ईभी लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइलले बिक्री गर्छ । यी दुवै कम्पनीका ‘माउ’ कम्पनीहरू अटोमोबाइल व्यवसायमा पुराना र अनुभवी छन् ।

नेपाली बजारलाई विशेष महत्व दिएको बताउँदै केई अटोमोबाइल कम्पनी लिमिटेडका डेपुटी जनरल मेनेजर ज्याङ सिङले भने, ‘नेपाली उपभोक्तालाई चाहिने बिक्रीपछिको सेवा दिन हामी प्रतिबद्ध छौं । साथै, नेपालको सडक सुहाउँदो नयाँ मोडलको पनि छिट्टै घोषणा गर्छौ ।’
उनका अनुसार नेपाल जस्तै अर्थतन्त्र भएको देशका उपभोक्तालाई केन्द्रमा राखेर अन्य देशमा पनि विस्तार भइरहेको छ । कम्पनीले पछिल्लो पटक श्रीलंकामा पनि आफ्नो उत्पादन बिक्री थालेको छ ।
निष्कर्ष
केई पक्कै बलियो ब्राण्ड हो । चीनको सरकारी लगानी, बलियो अटोमोबाइल उत्पादक चेरीको साथ र चीनकै ठूलो लिकर उत्पादकको लगानी भएको कारण यसको उत्पादनमा कम्पनीका इन्जिनियरदेखि उत्पादनमा जुटेका कर्मचारी ढुक्क देखिन्छन् ।
ट्रयाकमा चलाएर हेर्दा केईले बनाएको ईभीदेखि हाइब्रिड मोडलसम्म निकै उत्कृष्ट लाग्छन् । नेपालमा अहिले रहेको दुई डिलरको अन्योलता चिर्दै उपभोक्ताले एउटै बिक्रेतासँग ‘डिल’ गर्ने वातावरण बनेको खण्डमा त्यसले ब्राण्डको गतिविधि संचालन गर्न सजिलो हुने देखिन्छ ।
केई ग्लोबलको योजना र तयारी हेर्दा कम मूल्यमा उत्कृष्ट ह्याचब्याक र एसयूभी खोज्नेको लागि यो ब्राण्ड उत्कृष्ट विकल्प हो भन्न हिचकिचाउनु पर्दैन ।

