दुई महिना भित्रै कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तार सुरु हुने

काठमाडौं । चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–महाराजगञ्ज सडक खण्ड विस्तार सुरु हुन लागेको छ । दोस्रो चरणमा चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण सुरु हुन लागेको हो । 

चीन सरकारले कलंकीदेखि महाराजगञ्ज सडक खण्डको १७ किलोमिटर सडक विस्तार गर्न लागेको हो । हाल यो सडकको डीपीआर निर्माण अन्तिम चरणमा पुगेको सडक विभागका योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

सो सडक खण्डको डीपीआर तयार हुनासाथ १–२ महिनामै काम सुरु हुने उनले बताए ।

यस्तै, तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्मको सडक खण्ड विस्तारको विषयमा सम्भाव्यता अध्ययन भइसकेको उनले बताए । 

‘पहिलो चरणमा कोटेश्वरदेखि कलंकीको विस्तार सकिएको छ, अब दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्जको सडक विस्तारका लागि डीपीआर तयार भइरहेको छ, सँगै महाराजगञ्जदेखि कोटेश्वरसम्मको सडक विस्तारका लागि सम्भाव्यता अध्ययनको काम चीनले गरिरहेको छ,’ सुवालले मेरोअटोसँग भने । 

तीन तहमा विस्तारको कार्य भइरहेको सो सडकको पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्ड विस्तारको काम सम्पन्न भइसकेको छ । कोटेश्वरदेखि कलंकीसम्मको कूल १०.३९ किलोमिटर सडक खण्ड विस्तारको काम सम्पन्न भएको हो । सडक विस्तारपछि चक्रपथको यो खण्डमा आठ–लेन हुनेछ । 


Back_to_top