काठमाडौं । जापानी ब्राण्डले उत्पादन गरेका कार होस् वा मोटरसाइकल नेपाली बजारमा निकै चर्चित रहेका छन् । टेक्नोलोजी, सुरक्षा र टिकाउ भएकै कारण जापानी उत्पादन नेपालमा रुचाइन्छ ।
जापानी मोटरसाइकल ब्राण्ड होन्डा, यामाहा, सुजुकीले अहिले पनि राम्रो व्यापार गरिरहेका छन् । यस्तोमा कावासाकी ब्राण्ड नेपाल किन आइरहेको छैन भन्ने विषयमा धेरैले जिज्ञासा राख्ने गरेका छन् ।
सन् २०१७ सम्म भारतमा कावासाकी र बजाजको बीचमा सहकार्य चलिरहेको थियो । नेपालमा पनि कावासाकी क्यालिवर मोटरसाइकल हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री वितरण गर्दै आएको थियो । नेपाली बजारमा विक्री वितरण भइरहेको कावासाकीलाई पूर्ण रुपमा बजाजले प्रतिस्थापन गरेको हो ।
विश्वमा नै सर्वाधिक छिटो गतिमा कुद्न सक्ने मोटरसाइकल निर्माणमा अब्बल देखिएको कावासाकी नेपाली बजारमा भने अहिले उपलब्ध छैन ।
कावासाकीले भारतीय बजारमा अहिले पनि विभिन्न ९ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले भारतमा ३ लाख १८ हजारदेखि २१ लाख ९० हजारसम्मको मूल्यमा कावासाकीको मोटरसाइकल विक्री गर्दै आएको छ ।
कम्पनीले विक्री गर्दै आएको निन्जा ३०० सबैभन्दा कम मूल्यको मोटरसाइकल हो भने जेडएम २ एसइ सबैभन्दा महंगो मोडल हो ।
नेपाली बजारमा कावासाकीको निन्जा ३००, जेड ६५० र डब्लू ८०० जस्ता मोटरसाइकल सहजै विक्री गर्न सकिने देखिएपनि अहिलेसम्म यी मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुन सकेका छैनन् ।

