सुजुकी सेलेरियो किन्नले मासिक २४ हजार किस्ता तिर्नु पर्ने

काठमाडौं । मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियो नेपालमा बुकिङ खुल्ला भएको छ । अघिल्लो महिना भारतमा विक्री सुरु भएको सेलेरियोको सुरुवाती भेरियन्ट किन्न चाहने ग्राहकले मासिक २४ हजार किस्ता तिर्नु पर्ने देखिएको छ ।

मासिक किस्ताको पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

बजारमा तरलता अभाव भएर व्याजदर बढेको समयमा सेलेरियो किन्ने ग्राहकले कम्तीमा ११ प्रतिशत व्याजदरमा कर्जा पाउने देखिएको छ । कम्पनीले २७ लाख ९९ हजार सुरुवाती भेरियन्टको मूल्य कायम गरेकाले ग्राहकले डाउन पेमेन्ट वापत १३ लाख ९९ हजार ५०० रुपैयाँ तिर्नु पर्ने छ भने त्यति नै रकम कर्जा लिनु पर्ने हुन्छ । यसरी लिएको कर्जा ७ वर्ष भित्र तिर्दा ग्राहकले मासिक २३ हजार ८६३ रुपैयाँ बुझाउनु पर्छ ।

आधिकारीक वितरक सिजी मोटोकर्पले यसलाई माघको पहिलो हप्ताबाट डेलिभरी दिनेगरी बुकिङ लिइरहेको जनाएको छ ।

यस्तो छ नयाँ सेलेरियो

निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने ह्याचव्याक भएको छ । कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्टरस्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीको दावी छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले म्यानुयल र एएमटी गियरबक्समा ल्याएको छ । तर, नेपालमा अटोमेटीक भेरियन्ट आउने वा नआउने भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने, क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ ।


Back_to_top