काठमाडौं । भारतको नोयोडामा जारी अटो एक्स्पो २०२३ मा किवेले २५० सीसी नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको रेट्रो डिजाइन एसआर २५०को प्रतिस्पर्धा टीभीएस रोनीनसँग हुने भएको हो ।
भारतमा मल्टि ब्रान्ड मोटरसाइकल विक्री गर्ने कम्पनी अदिश्वर अटोमोवाइल्सले अटो एक्स्पोमा किवे एसआर २५० सार्वजनिक गरेको हो । नेपालमा पनि बेनेली र किवेका उत्पादन एउटै शोरुममा विक्री हुँदै आएको छ ।
किवे एसआरको भारतमा मूल्य १ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ । यस्तोमा १ लाख ७६ हजार मूल्य रहेको रोनीनलाई यसले कटा टक्कर दिने देखिन्छ । नेपालमा यी दुबै मोटरसाइकल उपलब्ध छैनन् । तर, चाँडै यी दुबै मोटरसाइकल नेपाल आउन सक्ने मोडलमा पर्छन् ।
किवेले एसआर २५० मा २२३ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६ हर्सपावर र १६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
टीभीएस रोनीनमा भने २२५ सीसी क्षमताको इन्जिन रहेको छ । लगभग समान इन्जिन भएपनि रोनीनको पावर भने बढी छ । रोनीनमा दिइएको इन्जिनले अधिकतम २० पीएस पावर र २० पीएस नै टर्क प्रदान गर्छ ।
किवेले एसआर २५० मोटरसाइकलमा राउन्ड हेडल्याम्प, टेलिस्कोपिक सस्पेन्सन, १४ लिटर क्षमताको इन्धन ट्याङ्क, स्पोक ह्वील, डबल डिस्क ब्रेक जस्ता फिचर उपलब्ध रहेको छ ।


