एक ब्राण्ड ५ फरक टेक्नोलोजीका कार, यस्ता छन् फिचर

काठमाडौं । जापानी कार निर्माता टोयोटाले पेट्रोलियम पदार्थको विकल्पमा हाइब्रिड, प्लइन हाइब्रिड, ईभी, फ्लेक्स फ्यूल र फ्यूलसेल टेक्नोलोजीलाई सँगसँगै लगिरहेको देखिन्छ । त्यसको एक झल्को ईभी एक्स्पो २०२३ मा पनि देख्न पाइन्थ्यो ।

जनवरी ११ तारिखदेखि सुरु भएको अटो एक्स्पो २०२३ बुधबार समापन हुँदैछ । विशेषगरी ईभीको बाहुल्यता रहेको अटो एक्स्पोमा टोयोटा मात्रै यस्तो कम्पनी बनेको छ, उसले सबै किसिमका बैकल्पीक इन्धनबाट चल्ने कारहरु प्रदर्शनी गरेको छ ।

जापानी अटो जाइन्टले एक्स्पोमा ईभीको रुपमा बीजेड फोर एक्स, फ्यूल सेलमा मिराई, फ्लेक्स फ्यूलमा कोरोला, प्लगइन हाइब्रिडमा प्रियस र एच टु टेक्नोलोजीमा पनि कोरोला देखाएको छ ।

प्योर ईभी बीजेड फोर एक्स

अटो एक्स्पोमा टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक मोडल बीजेड फोर एक्स सार्वजनिक गरेर आफु ईभीको लागि तयार रहेको जनाउ दिएको थियो । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको बीजेड फोर एक्स मोडल ई–टिएनजीए प्लेटफर्ममा बनेको एसयूभी हो ।

टोयोटाले यसलाई १५० र १६० किलोवाट क्षमताको दुई फार मोटर क्षमतामा अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको छ । डब्लूएलटीपीका अनुसार सिंगल चार्जमा ४४७ किमि चलाउन मिल्ने बीजेड फोर एक्समा ७१ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको छ ।

फ्यूल सेलमा मिराई

विश्वमा ईभीको विकल्पमा सर्वाधिक छिटो विकास भएको टेक्नोलोजीको रुपमा लिइएको हाइड्रोजन फ्यूल सेलमा आधारित सेडान कार मिराई भारतमा लञ्च गरेर टोयोटाले नयाँ संदेश दिएको छ । कम्पनीले मिराईलाई रियर ह्वील ड्राइभ सिस्टममा ल्याएको छ । यसले एक पटक हाइड्रोजन भर्दा ६५० किलोमिटर रेन्ज दिने टोयोटाले जनाएको छ ।

कम्पनीले मिराईमा १.२ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसको अधिकतम पावर १३४ किलोवाट अर्थात् १७४ हर्स पावर रहेको छ ।

कोरोला ‘एच टु’ कन्सेप्ट

टोयोटाले मिराई जस्तो पूर्ण हाइड्रोजन फ्यूलसेलको अलावा नयाँ ‘एच टु’ कन्सेप्ट पनि देखाएको छ । यो पेट्रोलियम पदार्थबाट चल्ने कार नै हो । कम्पनीले यसमा १.६ लिटर टर्बो इन्जिन दिएको छ । यसमा दिइएको ‘हाई प्रेसर हाइड्रोजन डाइरेक्ट इन्जेक्सन इन्जिन टेक्नोलोजी’ अटोमोवाइल क्षेत्रको लागि नै नयाँ हो ।

टोयोटाको अनुसार यसमा हाइड्रोजनको प्रयोग हुन्छ । साथमा पेट्रोल पनि, तर यसको प्रयोगले लिथियम र निकेलको बचत हुने कम्पनीले जनाएको छ ।

कोरोला फ्लेक्स फ्यूल कार

जैविक इन्धनको प्रयोगबाट चल्ने कोरोला पनि टोयोटाले एक्स्पोमा देखाएको थियो । विशेषगरी इथानलमा थोरै मात्र पेट्रोल मिसाएर चलाउन मिल्ने टेक्नोलोजी प्रयोग गरेर यसको इन्जिन तयार भएको छ ।

टोयोटाले कोरोला फ्लेक्स फ्यूल टेक्नोलोजीमा आधारित मोडलमा १.८ लिटरको साथ हाइब्रिड टेक्नोलोजीमा आधारित रहेर ७२ हर्सपावरको इलेक्ट्रीक मोटर पनि दिएको छ । यसले पनि पेट्रोलको प्रयोग घटाउने छ ।

टोयोटा प्रियस प्लगइन हाइब्रिड

टोयोटा प्रियस प्लगइन हाइब्रिड टेक्नोलोजी भएको कार पनिअटो एक्स्पो २०२३ मा प्रदर्शन गरिएको छ । १.८ लिटर पेट्रोल इन्जिन र ५३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध प्रियस एक उत्कृष्ट कार हो ।

यसको कम्बाइन पावर १२० हर्स पावर छ । यसमा कम्पनीले ८.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा रहेको ब्याट्री फुल चार्ज हुँदा ५० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।


Back_to_top