बीवाइडीको सर्वाधिक सस्तो ह्याचव्याक ‘सिगल’, ५५ किलोवाटको मोटर

काठमाडौं । विश्वकै ठूलो मध्येको एक न्यू इनर्जी भेहिकल उत्पादक बनेसँगै बीवाइडीले अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै नयाँ ह्याचव्याक सार्वजनिक गरेको छ ।

चिनियाँ बजारमा सार्वजनिक भएको नयाँ ह्याचव्याक कार सिगल कम्पनीले यसअघि बजार विक्री गर्दै आएको ह्याचव्याक कार डल्फीन जस्तै देखिएको छ ।

कम्पनीले सिगल ह्याचव्याकलाई पाँच सिट क्षमतामा ल्याएको हो । तर, डल्फीनको तुलनामा भने यसको लम्बाई छोटो छ । बीवाइडीले यसको मूल्य कम राख्न डल्फीनभन्दा छोटो बनाएको अनुमान गर्न सकिन्छ ।

बीवाइडीले यसलाई ३७८० एमएमको लम्बाईमा ल्याएको हो । किफायती रेन्जको लागि ५५ किलोवाट क्षमताको मोटर र ४५ किलोवाट आवरको फिरिएस लिथियम फस्फेट ब्याट्री दिएको छ । यसको रेन्ज ४२० किलोमिटर रहने छ ।

चीनको बजारमा १० हजार डलर हाराहारीमा विक्री सुरु हुने अनुमान गरिएको बीवाइडी सिगल अन्तर्राष्ट्रिय बजारमा फरक नामबाट उपलब्ध हुने अपेक्षा गरिएको छ । कम्पनीले डल्फीनलाई पनि अलग नामबाट अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरिरहेको छ ।

बीवाइडी डल्फीनको माग उच्च रहेको समयमा कम्पनीले अर्को सानो ह्याचव्याक तयार गरेको हो । बीवाइडी डल्फीन डिसेम्बर २०२२ मा मात्रै २६ हजार यूनिटभन्दा धेरै विक्री भएको थियो । कम्पनीले सन् २०२२ मा २ लाख ४ हजार २०० यूनिट डल्फीन विक्री गर्न सफल भएको थियो ।

बीवाइडीले आफ्नो पछिल्लो ब्लेड ब्याट्री सिगलमा प्रयोग नगर्ने भएको छ । कम्पनीले यसमा लिथियम फस्फेट ब्याट्री प्रयोग गर्नुको मुख्य कारण मूल्य कम राख्नु रहेको चिनियाँ मिडियाले दावी गरेका छन् । अहिले प्रतिकिलोवाट फस्फेट ब्याट्रीको मूल्य केबल ७५ डलर मात्रै रहेको छ ।

चिनियाँ प्यासेन्जर कार एशोसिएशनले पनि पछिल्ला दिनमा ब्याट्रीको मूल्य घट्दै गएको जनाएको छ । एशोसिएशनका महासचिव क्वी डोवाङसुका अनुसार अहिले लिथियम कार्बोनेट ब्याट्रीको मूल्य प्रति किलोवाट ६० डलर हाराहारी मात्रै रहेको छ । ब्याट्री उत्पादन बढेसँगै कम्पनीहरुले लगातार मूल्य घटाईरहेका छन् ।


Back_to_top