काठमाडौं । महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य घोषणा गरेको छ । कम्पनीले विभिन्न तीन भेरियन्टको मूल्य घोषणा गरेको हो ।
महिन्द्राले एक्स्यूभी ४०० को सुरुवाति मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गरेको हो । भारतमा यसको सुरुवाती मूल्यलाई धारमान्दा नेक्सन ईभीलाई कडा टक्कर दिने देखियो । तर, ठूलो मोटर पावरको कारण नेपालमा भने नेक्सन ईभीसँग प्रतिस्पर्धै नहुने देखियो ।
नेक्सनको तुलनामा निकै ठूलो एक्सयूभी ४०० को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ ।
महिन्द्राले स्लो चर्जर लाग्ने ईसी भेरियन्टको मूल्य १५ लाख ९९ हजार, ईसी ७.२ किलोवाटको लागि १६ लाख ४९ हजार र ईएल भेरियन्टको १८ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेको छ ।
महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्ने छन् ।
टाटा नेक्सनकै जस्तो ब्याट्री साइज भएपनि यसको नेपालमा आउँदा मूल्य भने महंगो पर्ने छ । किनभने यसमा ११० किलोवाट क्षमताको मोटर रहेको छ ।
.एक्सयूभी ४०० लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाई छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
सेफ्टी फिचरको मामलामा पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ । यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ । यो एसयूभीले ५ स्टार रेटिङने पाउनेमा कम्पनी विश्वस्थ रहेको छ ।


