काठमाडौं । चीनबाट आयात बन्द हुँदा विद्युतीय साधन बजारमा उपलब्ध हुन सकेका छैनन् । पुरै अगस्ट महिना चीनको केरुङ र तातोपानी नाका बन्द हुँदा एउटा पनि विद्युतीय गाडी नाका भएर आउन सकेको छैन ।
अहिले यी दुई नाका प्रयोग गरेर बीवाइडी, नेटा, एमजी, ज्याक, चांगन, हेनरी लगायतका ब्राण्डका कार र पीकअप तथा थुप्रै ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन आयात हुँदै आएका छन् ।
कोभिड १९ संक्रमणको कारण देखाउँदै चीनले लामो समय नाका बन्द राख्दा बाटोमा नै गाडीहरु अड्किरहेको आयातकर्ता कम्पनीहरुको भनाई छ । बाटोमा आउँदै गरेको गाडी मात्रै आउने हो भने पनि तत्काल केही यूनिट ईभी नेपाल आउने देखिन्छ ।
दशैंको लागि विक्री गर्न गाडी ल्याउन अधिकांश कम्पनीले राम्रै संख्यामा अडर्र गरेको भएपनि लामो सयम नाका बन्द रहँदा गाडी नआउने हो कि भन्ने डर सुरु भएको विक्रेताहरुको भनाई छ ।
‘हामीले गाडी डिस्प्याच गराएका छौं । हाम्रा भन्सार एजेन्टहरुलाई ९÷१० तारिख भित्रै नाका खुल्ला हुने जानकारी त्यहाँको स्थानिय प्रशासनले गराएको छ । आशा गरौं चाँडै नाका खुल्ला हुन्छ होला’, सिजी मोटर्सको सीइओ हेमन्त अग्रवालले मेरोअटोसँग भने ।
उता तिब्बत स्थीत नेपाली महावाणिज्य दुतावासले भने अहिलेसम्म कुनै आधिकारीक जानकारी प्राप्त नभएको जनाएको छ ।
‘हामीलाई आधिकारीक जानकारी नआएपनि कुराकानीमा नाका खोल्न सकारात्मक जवाफ आउन थालेको छ । यहाँको जनजीवन विस्तारै सामान्य हुनेतर्फ गएको छ । त्यसैले आउने हप्तासम्म नाका खुल्ला हुने अपेक्षा गर्न सकिन्छ’, दुतावासका एक कर्मचारीले भने ।
गाडी विक्रेताहरुको संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यही असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पोमा नयाँ गाडीहरु उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । तर, कतै न कतै व्यवसायीमा भने चीनको नाका बन्द कायम भएर नयाँ गाडी नआउने हो कि भन्ने त्रास रहि रहेको पाइन्छ ।

