काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक खल्तीले ब्लुबुक नवीकरण सेवा पुनः सुचारु गरेको छ ।
गत चैतदेखि स्थगित भएको ब्लुबुक नवीकरणा सेवा कम्पनीले पुनः सुरू गरेको हो । प्रहरीले यातायात कार्यालयहरूबाट बिचौलिया अन्त्य गर्ने अभियान चलाएसँगै खल्तीको ब्लुबुक नवीकरण सेवा स्थगित भएको थियो ।
कम्पनीका अनुसार सेवाग्राहीले एक मिस्डकल वा एसएमस गरेर आफ्नो सवारीको ब्लुबुक नवीकरण गराउन सक्नेछन् । ग्राहकले ९७१२०४९६१० मा मिस्ड कल वा ह्वाट्एसएप नम्बर ९८०१८९००८३ मा म्यासेज (एसएमएस) गर्नुपर्नेछ । त्यसपछि कम्पनीकै प्रतिनिधिले सम्पर्क गरी कुराकानी गर्नेछन् ।
सेवाग्राहीले घरबाटै सेवा पाउने छन् । खल्तीका प्रतिनिधि घरमै आएर ब्लुबुक लैजाने छन् । साथै, यातायात कार्यालयमा गई कर तिर्ने, ब्लुबुकमा आधिकारिक छाप लगाउने लगायत सबै काम उनीहरूले नै गरिदिनेछन् । ब्लुबुक नवीकरण गरी पुनः घरमै ल्याइदिने छन् ।
यसको अतिरिक्त सेवाग्राहीले खल्ती एपमा रहेको ह्वाट्स न्यू अन्तर्गत ‘ब्लूबुक रिन्युअल’ विकल्प छनोट गरी आफैँ पनि सेवा अर्डर गर्न सक्नेछन् ।
यस बापत कम्पनीले दुईपाँग्रे/चारपाँग्रे दुवै सवारीको हकमा २५० रुपैयाँ सेवा शुल्क लिनेछ । यसअघि दुईपाँग्रेको ३५० र चारपाँग्रेको ५०० रुपैयाँ शुल्क लिन्थ्यो । यद्यपि, हाल यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सेवाग्राहीलाई यातायात कार्यालयको लामो लाइन नबसी घरैबाट सुरक्षित र कानुनी रूपमा ब्लुबुक नवीकरण गर्न सक्ने कम्पनीले जनाएको छ ।


