काठमाडौं । किया नेपाली बजारमा नयाँ नाम होइन । विगत २५ वर्षदेखि कन्टिनेन्टल्स ट्रेडिङले नेपालमा किया ब्राण्डका गाडी बिक्री वितरण गर्दै आएको छ । विश्व स्तरको उत्पादन लाइनअप भएरपनि नेपालमा खासै ठूलो सफलता पाउन नसकेको कियाका गाडी बिक्रीमा पछिल्लो समय निकै उत्साह थपिएको अनुमान गर्न कठिन छैन ।
कम्पनीले नेपाली बजारमा गत साउनदेखि निरो इलेक्ट्रीक र मंसिरदेखि सेल्टोसको बिक्री सुरु गरेसँगै यसको बजार विस्तारमा नयाँ बाटो पहिलिएको मान्न सुरु गरिएको छ ।
कन्टिनेन्टल्स ट्रेडिङले किया निरो ८ महिनामा १५० यूनिटभन्दा बढी बिक्री गरेको छ भने सेल्टोसको बिक्री दुई महिनामा ७० यूनिटभन्दा बढी गरेको जनाएको छ ।

‘चालु आर्थिक वर्ष हाम्रा लागि निकै उत्कृष्ट रह्यो । हाम्रो निकै धेरै डिमान्ड रहेका निरो र सेल्टोस हामीले माग गरे अनुसार पाउन सकेका छैनौ । अहिलेको बिक्रीले नेपालमा कियाको बजारमा ठूलो परिवर्तन आउने देखिएको छ’, कम्पनीका डेपुटी जनरल मेनेजर अनिश लामिछानेले मेरोअटोसँग भने ।
उनका अनुसार किया स्पोर्टेजको बिक्री समेत निकै उत्कृष्ट रहेको छ । नयाँ जेनेरेशन स्पोर्टेज आफ्नो सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोडल भएको छ ।
समग्रमा भन्दा कियाले आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । उत्पादकले एकपछि अर्को नयाँ मोडल ल्याउनु, भारतमा उत्पादन सुरु हुनु र भारतमा उत्पादन भएको सेल्टोसले उत्कृष्ट व्यापार गर्नु जस्ता कारण नेपालमा पनि कियाको बजार हिस्सा बढ्दै गएको मान्न सकिन्छ ।
सब फोर मिटर एसयूभी सोनेटबाट अझ बढी आश
कियाले एसयूभी रेञ्जमा थप नयाँ मोडल भारतमा उत्पादन गर्दैछ । किया सोनेट नामबाट आउने उक्त एसयूभी अटो एक्स्पो २०२० मा प्रदर्शनी गरिएको थियो भने आगामी अगस्टबाट यसको बिक्री सुरु हुने बताइएको छ ।

‘कम मूल्य र सब फोर मिटर सेग्मेन्टमा हाम्रो उपस्थिति थिएन । सोनेट आएपछि अझै हाम्रो बजार हिस्सा बढ्छ । यो सेग्मेन्टमा निकै ठूलो भोल्यूम र प्रतिस्पर्धा रहेको छ । तर, सोनेटले यो सेग्मेन्टलाई नेपालमा लिड गर्नेछ’, लामिछानेले भने ।
किया सोनेट हुन्डाईकाे भेन्यूमा आधारित एसयूभी हो । यसमा अगाडि टाइगर नोज ग्रिल र एलईडी डीआरएल दिइएको छ । साथै, एलईडी हेडल्याम्प दिइएको छ । झट्ट हेर्दा यो एसयूभी निकै आकर्षक रहेको छ ।
लेटेस्ट स्मार्टफोन कनेक्टिभिटीका साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, यूभीओ कनेक्ट कार प्रविधि जस्ता फिचरले सोनेटलाई उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ ।
किया सोनेटमा हुन्डाई भेन्यूमा नै प्रयोग भएको इन्जिन रहने छ । जसमा प्रयोग हुने १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएस पावर र १.० लिटर टर्बो इन्जिनले १२० पीएस पावर र १.४ लिटर डिजेल इन्जिनले ९० पीएस पावर प्रदान गर्ने अनुमान गरिएको छ ।


