काठमाडौं । किया मोटरको आधिकारी वितरक इन्टरकन्टिनेन्टल्स प्रालिले आफ्नो पछिल्लो इलेक्ट्रीक क्रसओभर एसयूभी निरोको बिक्री संख्या १२३ पर्याएको जनाएको छ भने अघिल्लो वर्षमा आयात गरिएको २५ यूनिट सोलपनि यही आवमा बिक्री गरिएको जानकारी दिएको छ ।
विगत ३ वर्षदेखि कम्पनीले सोल इभीको बिक्री गर्दै आएको थियो भने निरो इभीलाई साउन पहिलो साताबाट नेपालमा बिक्री सुरु गरेको हो ।
साउनमा एकैपटक ७० यूनिट निरो आयात भएको थियो भने त्यसपछि क्रमश ४६ र ७ यूनिटगरि १२३ यूनिट किया निरो ल्याएर बिक्री गरिएको कन्टिनेन्टल्स स्रोतले जानकारी दिएको छ ।
‘हामीले सुरुमा ७० यूनिट र त्यसपछि पटक पटक गरेर ५३ यूनिट निरो ल्याएर बिक्री गरेका छौं । अबको एकहप्ता भित्र हामी पुनः १८ यूनिट निरो डेलिभरी दिने तयारीमा छौं’, कम्पनीका एजीएम अनिश लामिछानेले भने ।
उनकाअनुसार किया निरोको माग उच्च रहेको र माग अनुसार डेलिभरी दिन कम्पनीलाई हम्मे हम्मे परिरहेको छ । यसको पर्फमेन्स, डिजाइन, पावर र फिचरले ग्राहक संन्तुष्ट रहेका छन् । कम्पनीले किया निरोलाई ६६ लाख ९० हजार रुपैयाँ कायम गरेको छ ।
यस्तो छ किया निरो
किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गती तय गर्न सक्ने दाबी कम्पनीको छ ।
अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ ।


