काठमाडौं । ईभी सिरिजमा एकपछि अर्को मोडल बजारमा उतार्दै आएको कोरियन कम्पनी कियाले ईभी-२ मोडल ल्याउने भएको छ । कम्पनीले युरोपबाट बिक्री सुरु गर्ने योजना बनाएको ईभी-२ ले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने बताइएको छ ।
किया मोटर्सकै सबैभन्दा सानो मोडल ईभी-२ सन् २०२६ को सुरुवातबाट बिक्रीको लागि उपलब्ध हुनेछ । यसको आधिकारीक लन्चिङ भने यही वर्ष हुनेछ । कियाले ईभी-२ युरोपको स्लोभाकिया प्लान्टमा बनाउने छ । उक्त प्लान्टबाट कम्पनीले वार्षिक १ लाख ईभी-२ उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बाहिर चर्चामा रहेको रेन्डर तस्विरका अनुसार ईभी-२को डिजाइन धेरै हदसम्म ईभी-९ र ईभी-३ बाट प्रभावित भएको देखिन्छ । यसको अगाडिको लाइटको क्लस्टर सिकल सेपको सिग्नेचर डिजाइनमा छ । यसमा भर्टिकल वाइड स्कृनको अगाडि स्क्वायर हुड पोजिसन रहेको छ ।
चार मिटरभन्दा सानो साइजमा उपलब्ध हुने ईभी-२ को लम्बाइ ३९६२ एमएम छ । जुन ईभी-३ भन्दा ३०५ एमएम सानो हो । किया ईभी-२ सानो बाटोहरुका लागि उत्कृष्ट रहेको छ ।
कियाले ईभी-२ मा ४२ किलोवाट आवरको लिथियम आयोन फस्फेट (एलएफपी) र ६२ किलोवाट आवरको निकेल कोबाल्ट म्याग्नेसिस ब्याट्री दिएर ल्याउने छ । डब्लुएलटीपी साइकल अनुसार ४२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किलोमिटर र ६२ किलोवाटको ब्याट्री प्याकले ४४० किलोमिटरसम्म रेन्ज दिनेछ ।

